कोरोनाको महामारी प्रकृतिको चेतावनी हो

sajha
प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार २१:५१

विश्वका अधिकांश मानिस यतिवेला कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् । संक्रामक रोगसँग लड्न विश्वका धेरै सहर सुनसान छन् । नेपाल लकडाउनको स्थितिमा छ । यही परिवेशमा जनस्वास्थ्यविद् तथा चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केसँग राजु स्याङ्तानले कुराकानी गरेका छन् :

……………….

कोरोनासँग जुध्ने चिनियाँ विधि के हो ? विश्वले चिनियाँ विधि नै अपनाउनुपर्छ कि महामारीसँग जुध्ने फरक देशको फरक तरिका हुन सक्छ ?

कोरोना महामारीसँग जुध्न चिनियाँहरूले मुख्यतः पाँचवटा विधि अपनाएको देखिन्छ । पहिलो, वुहानजस्ता महामारीका केन्द्र बनेका सहरमा यातायात र अन्य मानवीय गतिविधि पूर्णरूपले बन्द गर्ने, अन्य ठाउँमा पनि मानिसलाई आफ्नै घरभित्र बस्न प्रेरित गर्ने, सामाजिकलगायत अन्य कार्यहरू बन्द गरी संक्रमण विस्तार हुने सम्भावनालाई रोक्ने ।

दोस्रो, रोगका लक्षणका आधारमा क्वारेन्टाइन प्रविधि कडा रूपले लागू गर्दै ल्याब परीक्षणलाई व्यापक बनााएर संक्रमितहरूको पत्ता लगाउने र रोगीसँग सम्पर्कमा आएका व्यक्तिको नियमित जाँच गरी संक्रमण भए–नभएको पत्ता लगाउने । रोग पत्ता लागेकाहरूको तत्काल उचित उपचार गर्ने । तेस्रो, स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउने, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई सुरक्षा, प्रशिक्षण र अभिमुखीकरण गर्दै उच्च मनोबलको स्थितिमा राख्ने । रोगीहरूका लागि छुट्टै अस्थायी अस्पताल निर्माण गर्ने र साधारणदेखि अति विशिष्ट सेवा कुशलतापूर्वक प्रदान गर्ने ।

चौथो, अनुसन्धानलाई सँगसँगै लैजाने । चिनियाँ परम्परागत औषधि प्रयोगको प्रभावकारिता हेर्ने । दु्रत परीक्षण किट आदिको आविष्कार र भ्याक्सिनको अनुसन्धान यसका उदाहरण हुन् । पाँचौँ, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत घर बसेकाहरूलाई तथ्यपरक र लाभदायक सूचना प्रवाह गर्ने । विश्वका अन्य देशले यिनै अनुभवलाई आआफ्नो परिवेशअनुरूप परिमार्जन गरी महामारी नियन्त्रण गर्न प्रयोग गर्न सक्छन् र गरिरहेका पनि छन् ।

चीनमा महामारी नियन्त्रणमा आउनुको खास कारण चिनियाँ नागरिकको अनुशासन र राज्यको कडा नियम पनि हो भनियो, यसबारे के भन्नुहुन्छ ?

माथि उल्लिखित कारणसँगै राज्यको कडा नियम र नागरिकको अनुशासन दुवै महत्वपूर्ण छन् । तर, बिर्सन नहुने तथ्य के हो भने अहिले पनि यो रोगका बारेमा नयाँ–नयाँ कुरा आइरहेका छन् । विशेषज्ञहरू कतिपय कुरामा एकमत छैनन् । चीनले आफ्नो सबैभन्दा ठूलो चाडका वेला महत्वपूर्ण स्थान बन्दा–बन्दी ग-यो । चीनमा चाडका वेला मानव ओहोरदोहोर संसारमै सबैभन्दा ठूलो मानिन्छ ।

विगतको सार्सको मनोवैज्ञानिक त्रास बोकेको देशमा बन्दा–बन्दी गर्न, परीक्षण र उपचार गर्न कति कठिन भयो होला ? यतिका अनुभवपछि पनि कतिपय विकसित भनिएका पश्चिमेली देशहरू महामारी नियन्त्रण गर्न असफल देखिएको परिप्रेक्षमा चीनको सफलतालाई आश्चर्यजनक भन्न संकोच मान्नु पर्दैन । ब्रुस आयलवार्डको नेतृत्वमा तयार गरिएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले भन्छ, ‘चीनको साहसिक कदमले तीव्र गतिमा फैलिरहेको नयाँ श्वासप्रश्वास जीवाणुलाई नियन्त्रण गरेर यस प्राणघातक महामारीको दिशालाई बदलिदियो ।’ त्यसो नगरेको भए यो महामारीको कस्तो बिकराल रूप विश्वले भोग्नुपर्ने थियो, त्यसको कल्पना पनि भयावह छ ।

चीनका अन्य प्रान्तमा कोरोना नफैलिनुको कारण के होला ?

कोरोना महामारीको केन्द्र वुहानलाई बन्द गर्नु र पछि सम्पूर्ण चीन बन्दा–बन्दी हुनु नै अन्य प्रान्तमा नफैलिनुको प्रमुख कारण हो । माथि उल्लेखित अन्य कारण सहयोगी हुन् ।

नेपाल, भारतलगायत दक्षिण एसियाली देशहरू महामारीको केन्द्रबिन्दु बन्ने सम्भावना कति देख्नुहुन्छ ?

नेपाल हालसम्म संसारमा सबैभन्दा कम कोरोना संक्रमण फेला परेको देशमध्ये हो । नेपालका वरिपरि भएका चीन र भारतका प्रान्तमा तुलनात्मक रूपले कम कोरोना रोगी फेला परेका छन् र मृत्यु हुनेको संख्या कम छ । तिब्बतमा एकजना मात्र संक्रमित फेला प-यो र उनी स्वस्थ भइन् । सिक्किममा अहिलेसम्म फेला परेको छैन । बिहार, पश्चिम बंगाल, उत्तर प्रदेश र उत्तराखण्डजस्ता भारतका प्रान्तमा जनसंख्याको तुलनामा कम केस देखिएको छ । भारतमा केसहरू किन कम देखिएका छन् भनी प्रश्न उठ्ने गरेको छ ।

कोरोना स्वास्थ्य क्षेत्रको अभूतपूर्व संकट मात्रै बनेन, यो केही देश या व्यक्तिका लागि चीनविरुद्ध छुद्रतापूर्ण अभिव्यक्ति प्रदर्शन गर्ने अवसर पनि बन्यो । त्यसमा समय खर्च गर्नुको सट्टा चीनबाट सिक्ने प्रयत्न गरेको भए त्यति क्षति हुने थिएन, जति अहिले केही पश्चिमेली देशमा भइरहेको छ ।

केस थोरै देखिनुमा परीक्षण थोरै हुनु एउटा कारण हुन सक्छ । तर, चीनमै पनि वुहान मात्रै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको सहर हो । वुहान र सारा चीन नै बन्दा–बन्दी भएपछि चीनका धेरै प्रान्तमा संक्रमित अत्यन्तै थोरै देखा परे र मृत्यु नभईकनै स्वस्थ्य भए । दक्षिण एसिया महामारीको केन्द्र हुने सम्भावना देख्दिनँ । यसका केही कारण छन् ।

पहिलो, दक्षिण एसियाली देशले बन्दा–बन्दी समयमै गरे । दोस्रो, यहाँ युवाहरूको संख्या बढी छ । तेस्रो, यहाँको बढ्दो तापक्रम र बदलिरहेको मौसम मानिसलाई सहयोगी हुन सक्छ । तथापि केही विद्वान्ले महामारीको केन्द्र बन्ने सम्भावना पनि आल्याएका छन् । अहिले ठूलो संख्यामा नेपाललगायत दक्षिण एसियाली देशमा फर्किरहेका देशवासीको कडा अनुगमन, क्वारेन्टाइन, परीक्षण र केसहरूको उपचार व्यवस्थापन गरिएन भने त्यस्तो सम्भावना आउन पनि सक्छ ।

वुहानमा मात्रै महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय जगत् माओको अनुहारमा मास्क लगाएर बसिरहे । चीनमा मात्रै संकट आएको देख्ने ती देशले संकट आफ्नै घर आइपुग्न सक्छ भनेर त्यसवेला किन सोचेनन् होला ?

कोरोना स्वास्थ्य क्षेत्रको अभूतपूर्व संकट मात्रै बनेन, यो केही देश या व्यक्तिका लागि चीनविरुद्ध छुद्रतापूर्ण अभिव्यक्ति प्रदर्शन गर्ने अवसर पनि बन्यो । त्यसमा समय खर्च गर्नुको सट्टा चीनबाट सिक्ने प्रयत्न गरेको भए त्यति क्षति हुने थिएन, जति अहिले केही पश्चिमेली देशमा भइरहेको छ । तर, जतिसुकै लोकतन्त्रको कुरा गरे पनि ढिलोछिटो सबै देशहरू बन्दा–बन्दीकै अवस्थामा पुगे ।

जनस्वास्थ्यको आपत्कालीन अवस्थालाई राजनीतीकरण गर्नुुहुँदैन, लोकतन्त्र र राज्यतन्त्रको बहसमा तान्न हुँदैन भन्ने सन्देश निकै ठूलो क्षतिपछि मात्रै विश्वले पाएको देख्छु । विगतमा फर्किने हो भने विश्व स्वास्थ्य संगठनले मात्रै चीनको त्यस ‘गैरलोकतान्त्रिक’ कदमलाई समर्थन गरेको थियो, त्यो पनि केही रिजर्भेसनसहित । त्यसरी हेर्ने हो भने अहिले सम्पूर्ण विश्व नै ‘गैरलोकतान्त्रिक’ भएको छ भने कसो होला ?

कोरोनाले निम्त्याएको समस्यालाई अवसरका रूपमा बदल्ने नेपालको सम्भावना सकियो कि बाँकी छ ? 

सम्भावना प्रशस्त छ । नेपालले बन्दको कदम लिइसक्यो । अबको चुनौती भनेको स्वास्थ्य प्रणालीलाई सदृढ गर्ने, सबै तहमा चिकित्सक, नर्स, ल्याब र स्वास्थ्यकर्मीलाई सुरक्षा साधन र अभिमुखीकरण प्रदान गर्दै उनीहरूको मनोबल उच्च राख्ने, कोरोना रोगीहरूलाई उचित उपचारको सुनिश्चित गर्ने । वडास्तरमै नेपालबाहिरबाट भर्खरै आएका व्यक्तिको खोजी गरी उनीहरूको स्वास्थ्य परीक्षण गर्ने । साथै बन्दको वेलाको असुविधालाई चुस्त व्यवस्थापनद्वारा हल गर्ने । काठमाडौंबाहिर पूर्व र पश्चिममा क्षेत्रीय ल्याब स्थापना गर्ने । काठमाडौंमा नमुना परीक्षण गर्नुपरे समय बचाउन दु्रत वाहन वा हेलिकोप्टरको प्रयोग गर्ने आदि । नागरिकहरूले घरमा बस्दा पनि एक–आपसमा दूरी कायम राख्ने र सरसफाइमा ध्यान दिने आदि ।

नेपालमा प्रतिदिन औसत २० व्यक्तिको मृत्यु क्षयरोगकै कारण भइरहेको छ । त्यसले यति धेरै चासो र चिन्ता हामीमा उत्पन्न गर्दैन । तर, कोरोनाबाट एउटै मृत्यु नहुँदा पनि हामी यति आत्तिएका छौँ । क्षयरोगबाट हुने मृत्युप्रति हाम्रो ध्यान यसकारण जाँदैन कि उनीहरू प्रायः विपन्न वर्गका मानिस हुन्छन् । उनीहरूको आवाज कसैले सुन्दैनन्, वा सुन्ने कोसिस गर्दैनन् ।

रोना संकटले दिएको सबैभन्दा ठूलो अवसर हो, नेपालले भोगिरहेको जनस्वास्थ्यका अन्य बिकराल समस्यालाई समाधान गर्ने संयन्त्रको स्थापना र विकास । नेपालमा प्रतिदिन औसत २० व्यक्तिको मृत्यु क्षयरोगकै कारण भइरहेको छ । त्यसले यति धेरै चासो र चिन्ता हामीमा उत्पन्न गर्दैन । तर, कोरोनाबाट एउटै मृत्यु नहुँदा पनि हामी यति आत्तिएका छौँ । कल्पना गरौँ, कोरोनाबाट प्रतिदिन २० को मृत्यु भए के होला ? मृत्यु भनेको मृत्यु हो, चाहे कोरोनाबाट होस् या क्षयरोगबाट ।

कोरोनाले यति धेरै राष्ट्र र सञ्चारमाध्यमको ध्यानाकर्षण हुने तर त्यसभन्दा कैयाैँ गुणा बढी मानिसहरूको प्राण लिइरहेका रोग र जनस्वास्थ्य समस्याप्रति विमर्श नहुनु चाखलाग्दो छैन र ? क्षयरोगबाट हुने मृत्युप्रति हाम्रो ध्यान यसकारण जाँदैन कि उनीहरू प्रायः विपन्न वर्गमा मानिस हुन्छन् । उनीहरूको आवाज कसैले सुन्दैनन्, वा सुन्ने कोसिस गरिँदैनन् । वायु प्रदूषण, सडक दुर्घटना, अन्य संक्रामक रोग र नसर्ने रोगको प्रकोपबारे र पर्यावरणलाई पु-याइरहेको गम्भीर क्षतिबारे नेपालीहरू कहिले सचेत हुने ? कहिले दृढ कदम चाल्ने ?

जनावरमा हुने रोगहरू मानिसमा सर्नुको कारण के हो ? यसमा मानिसले प्रकृतिलाई गर्ने हस्तक्षेप कति जिम्मेवार छ ?

मानिसले प्रकृतिमाथि गरेको दुव्र्यवहार र शोषण, जंगली जनावरहरूको व्यापार, खाद्यवस्तुको रूपमा तिनीहरूको प्रयोग आदि जनावरबाट मानिसमा रोग सार्ने जिम्मेवार कारकतत्व छन् । कोरोनाको महामारीलाई प्रकृतिको चेतावनीको रूपमा पनि लिन सकिन्छ । तर, प्रकृतिमाथि मानिसको असहिष्णु व्यवहार निकट भविष्यमा बदलिने सम्भावना देखिँदैन । किनकि त्यसको पछाडि मुनाफाको खोजीमा विनाशको ताण्डवलीला मच्चाइरहेको विश्वपुँजीवादको नवउदारवादी अवतार छ । आफूलाई समाजवादी भन्ने देशहरू पनि प्रकृतिको सन्दर्भमा पुँजीवादी शक्तिहरूभन्दा त्यति फरक नदेखिनु आश्चर्यको विषय भएको छ ।

यो महामारीले विपन्न जीवन बाँचिरहेका मानिसको जीवनमा कस्तो असर पर्न सक्छ ? विपन्न मानिसका लागि राज्य साथी बन्ने सम्भावना कति देख्नुहुन्छ ?

यो महामारीले सबैभन्दा धेरै संकट विपन्न समुदायका व्यक्तिमाथि नै थोपर्नेछ । यस्तो वेला राज्यकोष उनीहरूलाई सुरक्षा दिन सक्रिय हुनुपर्छ । उद्योग व्यापारीहरूको सामाजिक उत्तरदायित्व परीक्षण हुने वेला पनि यही हो । अन्य नागरिकले पनि आफ्नो गच्छेअनुसार विपन्न मानिसलाई सहयोग गर्नुपर्छ । विश्वपुँजीवादको आफ्नै आन्तरिक संकटहरूले गर्दा विश्वअर्थतन्त्र यो वर्ष ठूलो मन्दीको चपेटामा परेको धेरैले विश्लेषण गरेका थिए । कोरोना महामारीले गर्दा त्यो संकट सन् १९३० को भन्दा ठूलो हुने भविष्यवाणी हुन थालेको छ ।

हाम्रो तयारीले यस विश्व परिवेशलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । यस सन्दर्भमा बन्दा–बन्दीलाई सही किसिमले बुझ्नु पनि आवश्यक छ । घरै बसेर पनि व्यक्तिगत दूरी कायम गर्दै अफिस र उद्योगका कतिपय कामलाई निरन्तरता दिन सकिन्छ । त्यस्तै व्यक्तिगत सुरक्षाको सबै सावधानी पालना गरेर बन्दा–बन्दीकै वेलामा पनि खेतिपातीजस्तो आधारभूत आवश्यकताका काम पनि गर्न सकिन्छ । स्वास्थ्यका हिसाबले कोठाभित्र भन्दा खुला ठाउँ स्वस्थकर हुन्छ । यसबारे सरकारको ध्यान जान आवश्यक छ ।

मानवसभ्यताले पटक–पटक यस्तो विपत् भोग्नुपरिरहेको छ । विज्ञान–प्रविधिको अभूतपूर्व विकास भयो भनिएको समयमा पनि किन यस्तो विपत् हामी भोग्न अभिशप्त छौँ ? आगामी दिनमा यसलाई टार्न सकिँदैन ?

विज्ञान आफैँ पनि केही हदसम्म यो दुःखान्त परिस्थितिका लागि जिम्मेवार छ । जलवायु संकटले स्पष्ट गरेको छ कि कार्बन बजेट सकिन हामीसँग १५ वर्षभन्दा बढी समय छैन, अर्थात् तापक्रमलाई १.५ डिग्रीभन्दा मुनि राख्न । नाफाको दुर्दान्त आग्रह र आशक्तिले विज्ञानलाई आफ्नै स्वार्थका लागि प्रयोग गरेको इतिहास हाम्रो सामुन्ने छ । मानव प्रकृतिको एक अंग भएर बाँच्नुपर्छ भन्ने होइन, प्रकृतिमाथि शासन र शोषण गर्न सकिन्छ भन्नेतर्फ विज्ञानका उपलब्धि मोडियो । त्यसैले अहिले प्रकृतिको प्रत्याक्रमणको सम्भावनाले मानव समाजकै अस्तित्व संकटमा छ ।

ऊर्जाको आवश्यकता नै त्यस्तो जरा कारण हो, जसले जलवायुलगायतको पर्यावरणीय संकटलाई निम्त्यायो । तर, संकटको यो घडीमा पनि केही मानिस नेपालमा समेत पुनः नवीकरणीय ऊर्जाको सट्टा सुरक्षित ऊर्जा भन्दै युरेनियमको प्रयोगलाई प्रोत्साहित गरिरहेको देख्नु उदेकलाग्दो छ । यो त्यस्तो प्रदूषण हो, जसले मानव समाजको मात्रै होइन, सम्पूर्ण पर्यावरणकै विनाश गर्न पनि सक्षम छ ।

यस्तो संकट टार्न हाम्रो सोच र व्यवहारमा आमूल परिवर्तन आउनु आवश्यक छ । त्यो पनि अति छिटो । अब सामाजिक न्यायले मात्रै पुग्दैन, वातावरणीय न्यायप्रति पनि मानिस सचेत हुनुपर्छ । सामाजिक न्यायविना वातावरण संरक्षण गर्न सम्भव छैन, तर सामाजिक न्यायको दुहाइ दिँदै वातावरणको चरम शोषण समाजवादी देशहरूले पनि गरेको ऐतिहासिक यथार्थ हो । नेपालको समाजवाद त अझ नवउदारवादी एजेन्डाबाटै अनुप्राणित देखिन्छ । यसप्रति सचेत नागरिकले आवाज उठाउनु आवश्यक छ ।

यो भन्नु आवश्यक छ कि अबको समाजवाद पर्यावरणीय समाजवाद मात्रै हुन सक्छ, प्रकृतिको चरम शोषण गर्न उद्यत हुने समाजवाद पाखण्ड हो । अर्काेतिर वास्तविक समाजवादले मात्रै पर्यावरणको रक्षा गर्न सक्छ र मान्छेलाई प्रकृतिको सान्निध्यमा फर्काउन सक्छ । किनकि, सामाजिक न्यायलाई स्थापित नगरी त्यसो हुनु सम्भव छैन ।


२४ चैत्र २०७६, सोमबार २१:५१ मा प्रकाशित

 

Loading…