जन्मस्थलको प्रेमका बारेमा सुगाले सिकायो ईन्द्रलाई पाठ

sajha
प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार २०:३७

गौरीघाट । एकपटक युधिष्ठिरले भीष्म पितामहसँग दयालु र भक्त पुरुषको गुण के कस्ता हुन्छन् भन्ने जिज्ञाशा राखेका थिए । उनलाई चित्त बुझाउन पितामहले एउटा सुगाको दुष्टान्त दिएका थिए ।

एकपटक एउटा व्याधाले मृगको शिकार गर्नकालागि बाणको टुप्पोमा विषालु औषधि दलेर जंगल गएको थियो । जंगलमा उसले मृगको हूल देख्यो र बाण छोड्यो । बाण मृगलाई लागेन तर एउटा रुखमा गएर लाग्यो ।

बाण लागेको रुख सुक्दै गयो । त्यो रुखमा एउटा टोड्का थियो । त्यो टोड्कामा सुगा बसेको थियो । रुख सुक्दै गएपनि सुगा त्यहाँबाट उडेन । रुखको साथसाथ ऊ पनि सुक्दै गयो । सुगाको त्यो चाला देखेर देवराज ईन्द्रले परीक्षा लिने बिचार गरे र ब्राम्हणको भेष लिएर सुगासँग रुख नछोड्नुको कारण सोधे ।

सुगाले ब्राम्हणलाई भने, “तपाईं ईन्द्र हो । तपाईंलाई प्रणाम । मैले यही वृक्षको आश्रयमा आफ्नो जीवन विताई रहेकोछु । मेरो लालन पालन यसै रुखबाट भईरहेकोछ । यसै रुखले गर्दा मलाई शत्रुहरुले पनि केही गर्न सकेनन्, त्यसैले म आफ्नो प्राण गएपनि यो रुख छोड्दिन ।”

सुगाको यस किसिमको उत्तरले ईन्द्र खुशी भए । इन्द्रले सुगालाई बर माग्न आग्रह गरे । सुगाले पनि “यो रुख हराभरा बनाई दिनुस्, त्यति भए पुग्छ” भन्ने जवाफ दिए । ईन्द्रले रुखमा अमृत छर्के । रुख हराभरा भयो । ईन्द्र फर्केर गए । सुगा प्रेमसंग त्यसै रुखमा बस्यो । (श्रोत महाभारत)


५ बैशाख २०७७, शुक्रबार २०:३७ मा प्रकाशित

 

Loading…