भैँसीगोठे क्वारेन्टाइन ! (ब्यङ्ग्य कविता)

sajha
प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार १०:३४

अर्जुनराज पन्त

जन्मभूमी आउँदासमेत मुस्कान छैन ओठमा
क्वारेन्टाइनमा बस्नु पर्दा आज भैँसी–गोठमा !

सरकार पनि अचम्मैको अहिले गाउँ–गाउँमा
भैँसी–गोठमा मान्छे राख्छ क्वारेन्टाइनका नाउँमा !

गोठका पशु अन्त सारी त्यसलाई पारी खाली
न त ढोका लाउन मिल्ने न त तार–जाली !

चितुवाले तान्ने हो कि राति सुत्दाखेरि
केको आउनु निन्द्रा त्यहाँ जागा रातैभरि !

सुत्न पनि मिल्ने हो र ? जिउ नै खसखस गरि
भैँसी–गोठका जुम्रा–किर्ना सल्की हरैभरि !

कोरोनाको त्राससङ्गै किर्नाको नि भय
नयाँ रोग पो सर्ने हो कि त्यहाँ बस्न गए !

मान्छे चुस्ने जन्तु चुस्ने अनेक थरि किर्ना
स्वदेश–विदेश जहाँ पनि छोडेनन् नि पिर्न !

न त राख्छन् मान्छे अझ बेग्लाबेग्लै गरि
पशुसरि कोचेको छ मान्छे गोठैभरि !

क्वारेन्टाइनमै मान्छे मोर्ने आउँदा यस्ता दिन
सुधार्ने त्यो मेसोचाहिँ देखिएन किन ?

न त कुनै मापदण्ड न विज्ञको राय
क्वारेन्टाइनको खर्च भन्दै भा’को बजेट खाए !

ज्यान जोगाउन फर्की आउँदा आज आफ्नै घर
कोरोनाको भन्दा पनि क्वारेन्टाइनको डर !

बाध्यतै छ क्वारेन्टाइनको क्यारि भनुन् जान्न ?
क्वारेन्टाइनमा बाँचे भने कोरोनाले लान्न !

कोरोना पो आयो भन्थे आज जगतभरि
कमाउने पो दिन हुन् कि खै नानाभाँति गरि ?

अचम्मै पो हुँदो रैछ लागेपछि बानी
आफ्नै कात्रो किन्दा समेत कमिसन त्यो खानी !

अर्बौं गरे खर्च आज कोरोनाका नाउँमा
भैँसी–गोठमा क्वारेन्टाइन, हरे कठै गाउँमा !


२४ जेष्ठ २०७७, शनिबार १०:३४ मा प्रकाशित

 

Loading…