लकडाउनले बढायो नैराश्यता

sajha
प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार ०८:४४

खिम लामिछाने काजी 

वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग भैरहेको शब्द हो लकडाउन। जुन कोरोना भाइरस कोभिड१९ संगै आएको शब्द हो।

कोरोना भाइरसको संक्रमण देखिन सुरु गरेलगत्तै सरकारले देशभर लकडाउन सुरु ग¥यो। यो लकडाउन सातौँ पटक थप हुँदै जेठ ३१ गतेसम्म पुगेको छ। 

चैत ११ गते, चैत १८,चैत २५, वैशाख ३, वैशाख १५, वैशाख २५, जेठ ५, जेठ २० हुँदै जेठ ३२ गतेसम्म सरकारले लकडाउन बढाउने घोषणा गरेको छ।

बिहीबारसम्म कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन भने संक्रमितको संख्या ४३६४ सय पुगेको छ। यो संख्या अझै वृद्धि हुने निश्चित छ।

लकडाउन शब्दको उत्पति र प्रयोग ठ्याक्कै यहि मितिमा भएको भन्ने एकिन नभएतापनि सन १९७०÷१९८० को दशक तिर प्रयोगमा आएको मानिन्छ।

भारत जम्मू काश्मीरको समस्यामा अगस्ट २०१९ मा लकडाउन गरेको थियो। सेप्टेम्बर २००१ मा अलकायदाले अमेरिकामा आक्रमण गर्दा लकडाउन गरेको थियो।

शाब्दिक रुपमा हेर्दा अंग्रेजी शब्द लक र डाउन मिलेर लकडाउन बनेको छ। ‘लक’ को अर्थ बन्द गर्नु र ‘डाउन’ को अर्थ यथास्थानमा रहने भन्ने रहेको छ।

यसरी बन्दि जस्तो भएर यथास्थानमा बसिरहनु नै लकडाउनको अर्थ हुन जान्छ। धेरैले लकडाउनको अर्थ आफ्नै किसिम दिएको छन।
कसैले यसलाई घरबन्दी भन्ने गरेका छन। कसैले तालाबन्दी कसैले गृह सिमितता भनेर अथ्र्याएका छन्। कसैले सर्वत्र शून्यता भन्ने गरेको पनि पाइएको छ।

यद्यपी नेपालीमा लकडाउनको अर्थ ठ्याक्कै नभएपनि बन्दाबन्दीको समय भनेर भन्ने गरिएको व्यापक पाइन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती ‘लकडाउन’ शब्दको अर्थ बन्दाबन्दीले नबोक्ने बताउँछन्।

बन्दाबन्दीसँगै लकडाउन जस्ता केही प्राविधिक शब्दहरू नेपाली शब्दकोशमा राख्ने तयारी भइरहेको छ।

जस्तै लकडाउन, बन्दाबन्दी, सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन वा ह्युमन क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ, पीपीई लगायतका अन्य  शब्दहरू प्रज्ञा बृहत नेपाली शब्दकोशमा समावेश प्रकाशोन्मुख रहेको छ।

लकडाउनको उदेश्य मानिसहरुलाई एक अर्कासंग व्यक्तिगत रुपमा टाढा रहनको लागि गरिएको आवतजावतमा बन्द गरिनु हो।

लकडाउन आपतकालिन अवस्थामा सरकारद्वारा जारी गरिने निषेधाज्ञा हो। लकडाउन घोषणा गरिएको समय कफ्र्यु लागेको बेला जस्तो इमरर्जेन्सी बाहेक घरबाट बाहिर निस्कस्न निषेध गरिन्छ।

हालको लकडाउनको मुख्य उदेश्य भिडभाड कम गरी कोरोना भाइरस संक्रमण फैलन नदिनु  नै हो। 

यसका साथै आन्तरिक रुपमा संक्रमण रोक्ने उपायहरु अबलम्बन गर्ने, संक्रमण भइहालेमा फैलनबाट रोक्ने, सम्भावितहरु कोरोना जाँचहरु गर्ने, जाँच गर्ने ठाउँहरु र संख्या बढाउने, कन्ट्याक्ट ट्रेसिङ गरी संक्रतिमहरुको खोजीनिति गर्ने र उनीरुलाई क्वारेन्टाइनमा राख्ने, सत्रंmमितहरुलाई उपचार गर्ने, अस्पतालको व्यवस्थापन, क्वारेन्टाइनमा निमार्ण कार्य गनर्,े सबै प्रदेश तथा स्थानीय तह समुदायमा भाइरस फैलन रोक्ने र संक्रमितको उपचार गर्ने अग्रिम व्यवस्था तथा कार्यक्रमहरु यो लकडाउनको समयमा गरिन्छ। 

एकातिर भाइरस फैलिन रोक्नको लागि लकडाउन गरिएको छ भने अर्को तिर लामो लकडाउनमा देशको आर्थिक र व्यक्तिहरुको मानसिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ।

क्लिनिकल साइकोलोजिस्ट डा मारिया लौडेसद्वारा बाथ यूनिभर्सिटी ब्रिटेनमा लकडाउनको कारण बच्चा र युवकहरुको मानसिक असर र एक्लोपना बारे एक अध्ययन भएको थियो।

जसको निष्कर्ष अब आउने वर्षहरुमा मानिसको मानसिक स्वास्थ्य सेवाको धेरै नै खाँचो पर्दछ। उक्त अध्यनले डिप्रेसन र चिन्ता जस्ता बिरामीहरु ३ गुणा बढ्ने सम्भावना रहेको हुदा मानसिक स्वास्थ्यसेवा बिस्तारको लागि तयार रहन समेत सुझाब दिएको छ।

कोरोना लागेर मर्ने एउटा चिन्ता छ भने आय आर्जनका श्रोत बन्द हुनाले अर्को  चिन्ता थपिएको छ।

लकडाउनको कारण धेरै कुराहरुमा परिवर्तन आइरहेको छ। दैनिक गरिने क्रियाकलापहरुमा अकस्मात् ब्रेक लाग्दा मानिसहरुमा भविष्यको चिन्ताले सताउन थालेको छ।

सरकारले लकडाउनको समय लम्ब्याउदै गर्दा जनतामा अब के हुन्छ। कहिले लकडाउन सकिन्छ। कोरोना भाइरसको कहर कहिले सकिन्छ भन्ने जस्ता कुराले रातभर निदाउन सकेका छैनन।

लकडाउन कै कारणले आत्महत्या समेत गरिसके। मानिस सामाजिक प्राणी हो। उ एक्लै बस्न सक्दैन। लकडाउनको समयमा घर बाहिर निस्केर साथीसंगीसंग भेटघाट तथा गफगाफ गर्न नपाउदा निकै आत्तिरहेको छ।

लकडाउनको कारण सबैभन्दा मर्कामा पर्नेहरु दैनिक ज्यालागरी खानेहरु परेका छन ।त्यसैगरी सानोतिनो व्यवसाय गरी दैनिक गुजारा गरी जीवन धानिरहेका व्यक्तिहरुलाइ लकडाउनले ठुलो पिडा दिएको छ।

जसको कारण उनीहरु हाँसेर बोल्न समेत सकिरहेका छैन। एकातिर आफ्नो व्यवसाय चौपट अर्को र्फ आफ्नो बाबुनानीहरुलाइ खुवाउने अन्नको अभाव, उनीहरु दोहोरो मारमा परेका छन। जसको कारण पिर, व्यथा र नैराश्यले जीवनमा डेरा जमाउन थालेको छ।

लकडाउनले हरेक तह, तप्का, वर्ग, जाति, धनी, गरीब, भाषाभाषी सबैको जीवन धमिल्याएको छ।

थोरै र धेरै मात्राको मात्र फरक छ।  हुने खानेहरुलाइ लकडाउनले अलि कम असर र हुँदा खानेहरुलाइ अली बढी असर गरेको छ।

तर सबैको जीवनमा उत्तिकै नैराश्यता छाएको छ। बाहिर हाँसेर बोले पनि भित्रि मनमा कोरोनाको डरले सबैको मन भयभित छ।

जसले आम मानिसमा निराशा छाएको छ।  युनिसेफका अनुसार विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेकोले ती सुचनाले चिन्ता लगाउन सक्छ। त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस्।

इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन्। त्यसैले  विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकारको वेबसाइड तथा भरपर्दा र आधिकारिक वेबसाइटहरुबाट मात्र समाचार र सुचना हेर्ने गर्नुपर्दछ।

एकातिर व्यवसाय ठप्प छ। अर्कोतिर सरकारले कर तिर भनेको छ। बैँकको साँवा व्याज त नतिरि उम्कन पाइने छैन।

जसले गर्दा व्यापारीहरु पिडा र निराशाले खुलेर हाँस्न सकेका छैनन। सामाजिक तथा भौतिक दुरी कायम राख्न कतिपय कर्मचारीलाइ सरकारद्वारा घर मै बस्न भनिएको छ।

लकडाउन लम्बिदै जाँदा घरमा बस्नेहरुमा विभिन्न खालका समस्याहरु देखिन थालेका छन। जस्तै घरमा बस्दाबस्दा मोटोपन बढेर कोहि चिन्तित छन्। कोहि घरमा बस्दाबस्दा थाकेर मानसिक बिरामी नै भएका छन। घर मात्र बस्नाले शरीर कसरत नहँुदा रक्तचाप, मधुमेह, मुटुका रोग लगाएत अन्य रोगहरु बढेर चिन्तित भएका छन।

३४ दिनसम्म घरबाट ननिस्केका चाइनाको बुहान सहरका १हजार ७८४ जना बच्चाहरुमा वुहानको हाउझोङ्ग साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटीले गरेको एक अध्ययनमा २२ दशमलब ६ प्रतिशत बच्चाहरु डिप्रेशन पाइएको थियो। १८दशमलब ९ प्रतिशत बच्चाहरुमा एन्जाईटि (तनाब) का लक्षणहरु पाइएको थियो।
 
अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स, मानसिक रोग विभागका प्राडा मल्होत्रा र डा राजेश सागरको अध्ययनले मानसिक रोगीहरुलाइ लकडाउनले थप मानसिक समस्या थपेको कुरा द न्यु इन्डियन एक्सप्रेसमा बताएका छन। 

मानसिक बिरामीहरु जसले नियमित औषधी सेवन गरीरहेका थिए। उनीहरुले पटक पटक फोन गरेर नयाँ मानसिक समस्या र चिन्ता व्यक्त गर्ने गरेको कुरा बताएका अध्ययनमा उल्लेख गरेका छन्।

स्कुल पढ्ने विद्यार्थीको परीक्षा त प्रकाशित भयो। पास पनि भईसके। तर नयाँ पुस्तक किन्ने र नयाँ कक्षा कोठामा पढ्ने रहर भने पुरा हुन सकेको छैन। त्यो नयाँ कक्षा प्रवेशको पहिले दिनको एक्साइटमेन्ट त्यो अद्भुद अनुभुती लिन नपाउँदा नैरश्याता छाएको छ। 

सबै भन्दा ठुलो पीर, व्यथा र मर्कामा त एसइइ दिनेहरु छ। जस्को भोली बिहान देखी परीक्षा हुने भनिएको थियो। तर  सोहि दिनदिन साँझ ६ः ०० बजेमा परिक्षा रद्ध भएको जानकारी समाचार बनेर आयो। कतिले परीक्षाको तयारी मात्र होइन। परीक्षा केन्द्र परेको स्थान नजिक डेरा लिएर बसि सकेका थिए।

उनीहरुलाई अहिले सबैभन्दा बढी नैराश्यता छाएको छ। उनीहरु अहिले पढ्न पनि त्यति मन गरीरहेका छैनन। त्यस्तै गरी अन्य लेभलमा पढ्नेहरुको पनि परीक्षा र नियमित कक्षाहरु सबै रद्ध भईसके।
उनीहरुको जीवन पनि  निराशाजनक भएर बितेको छ। दिनभर घर बस्ने तर पढ्न मन पटक्कै नलाग्ने, बरु इन्टेरनेट र सामाजिक सन्जालमा समय बिताउने गर्न थालेका छन। 

यूट्युब र अनलाइनका अतिरन्जित गरिएका समाचारहरु पढेर झन नैराश्यता थपिदै गएको छ। 
‘द साइकोलोजी अफ प्यानडामिक’  पुस्तकका लेखक तथा युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका प्रोफेसर डा स्टेभन टेलरले आफ्नो पुस्तकमा कोनोरा भाइरसबारे सबैलाइ आतंङ्ग पार्ने अनलाइनका समाचारले डर र भय पैदा भई गर्भवती महिला र बच्चाहरुमा मानासितक बिचलित हुने र मृत्य समेत हुने गरेको उल्लेख गरेका छन।

लकडाउनको समयमा बच्चादेखि वृद्धसम्म सबैको समय बिताउने सहारा टिभि, मोबाइल फोन, ल्यापटपजस्ता उपकरण भएका छन। 

मोबाइलमा गेम खेल्नु र  सामजिक सञ्जाल चाहार्नु नै हरेक मानिसको दिन काट्ने साझा माध्यम बनेको छ। 

दिनभर हरेक मिनेट मिनेटमा मोबाइल स्क्रोल गर्ने राम्रा नराम्रा सहि गलत सबै प्रकारका समाचारहरु हेर्ने सुन्ने बानीले मोबाइलको लत बनिसको छ। 

आजकल बरु मान्छेहरु खाना खान कुर्न सक्छन तर कोरोना अपडेट कुर्न नसके भैसके। यो पनि एक प्रकारको मानसिक रोग नै हो। हरेक कुरामा अपडेट हुनु राम्रो हो, तर कुनै पनि कुरामा आशक्ति हुनु कदापि राम्रो होइन।

भनिन्छ ‘अ ब्याड न्युज इस गुड न्युज’ खराब समाचार नै राम्रो समाचार हो, तर त्यो समाचार छाप्नेहरुको लागी मात्र।  

त्यसैले छापाहरुले नकारात्मक समाचार नै बढी मात्रमा सम्प्रेषण गरिरहेका हुन्छन। अनलाइन प्रोटलहरु हे¥यो योे भने सकारात्मक समाचारको समेत हेडलाइन नकारात्मक बनाइ प्रकाशित गरिएको पाइन्छ।  यस्ता नकारात्मक समाचारहरु पढ्दा पढ्दै हाम्रो मानसिकता पनि नकारात्मक हुनपुग्छ र हामी नैराश्यवादी बन्न पुग्छौं।
जसले गर्दा हामी मानसिक रुपले कमजोर बन्न पुग्छौं। मिडियामा प्रकाशित सबै समाचार सही हुँदैनन। 

गलत समाचारका कारण मानिसमा डर पैदा हुनुका साथै कोरोनाका बारेमा फैलिएका अनेकौं भ्रामक खबरले मानिसमा तनाव बढ्न सक्छ। 

तनाबले डिप्रेसनको सिकार बनाउँछ। धेरै इन्टरनेटको प्रयोगले मानिसमा निन्द्रा नलाग्ने, कम निन्द्रा लाग्ने र ढिला सुत्ने बानीको विकास भैरहेको पाइन्छ।

जसको कारण स्लिप डिसअडर जस्ता मानसिक रोग लाग्न जान्छ। धेरै इन्टरनेटको प्रयोगबाट आँखाको रेटिनामा पनि समस्या देखिन्छ।

मानिस एक सामाजिक प्राणी भएकोले गर्दा समाजबाट टाढा बस्नु भनेको उसको लागि एकदमै गाह्रो काम हो। 

हाल लकडाउनको कारण होम क्वारेन्टाइनमा बस्नु पर्दा मानिस आफुलाई समाज देखि टाढा भएको महसुस भएको छ।

समाजसँग जोडिनबाट बञ्चित भएको कारणले गर्दा मानिस बिचलित भएको छ।  यस्तो अवस्थामा मानिसलाई भौतिक रूपमा नभए पनि इन्टरनेटले सामाजिक सञ्जालको माध्यमद्वारा समाजसँग जोडिरहेको छ।

यसरी उचित तबरले इन्टरनेटको प्रयोग गर्दा क्वारेन्टाइनको समय एकदम फलदायी बन्न जान्छ। भने गलत तरिकाबाट भनौं वा उठे देखि नसुतेसम्म  इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोग गर्दा बिभिन्न प्रकारका मानसिक समस्याहरु देखिन थाल्छ।

यद्यपी लकडाउनको समयमा घरमा बस्दा केहि सकारात्मक काम पनि भएका छन। व्यस्त जीवन पद्दतीबाट लामो समयको आराम, घर परिवारसंग समय बिताउने अवसर सबैभन्दा ठुलो फाइदा वातावरण प्रदूषण हुनबाट बचेको छ। गत चैत्र महिना नै नासाले ओजोन तह पुरिदँै गएको तस्बिर सार्वजनिक गरेको थियो। 

लकडाउनको समयमा विभिन्न कारणले सहरमा बसोबास गरेकाहरु आफ्नै गाउ फर्केका छ। बाँझो जमिन हराभरा पारेका छन।

साना बाबु नानीहरुले गाउँले परिवेश बुझ्ने अवसर पाएका छन। तर पनि बाबु नानीहरुको मोबाइल र इन्टरनेटमा रमाउने बानीको विकास बढ्दै गहिरहेको छ।

जसले गर्दा इन्टरनेट अडिक्सनको शिकार भइ डिप्रेसन हुने खतरा बढिरहेको छ। समग्रमा हेर्दा यो लामो समयको लकडाउनले सबै व्यक्तिहरुमा कुनै न कुनै प्रकारको मानसिक तनाव दिएको छ।

जीवनलाइ नैराश्यता तर्फ धकेलिएको छ। यसबाट बच्न हामी सबैले मनोबल उच्च राख्न जरुरी छ। ध्यान, योग, शारिरीक व्यायाम र सकारात्मक सोचले हाम्रो मनोबल उच्च राख्न मदत मिल्छ।


२९ जेष्ठ २०७७, बिहीबार ०८:४४ मा प्रकाशित

 

Loading…