कोरोना त्रासबीच सलहको प्रकोप

sajha
प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार ११:४०

– राज्यलक्ष्मी शाक्य

गर्मी र समोतिष्म जलवायुमा हुर्किने किटपतङ्गको श्रेणीअन्तर्गत एक प्रजातिको फट्यांग्रा हो । सन् २०२०का दिनहरुमा कोरोना भाइरसले सताइरहेको त्रासमय वातावरणमा थप संकटको आभास मिल्ने गरी सलहको व्यापक फैलावटले दक्षिण एसियाको अफगानिस्तान हुदैं पाकिस्तान र भारतको उत्तर पश्चिम प्रान्त पञ्जावलगायत राजस्थान तर्फ प्रवेश पाएको त्रास जन्माउने सनसनीपूर्ण समाचारहरु सामाजिक सञ्जालमा छाउन थालेका छन् । यो प्राणी अधिकतम पाँच महिनासम्म बाँच्ने हावामा विचरण गर्दै वनस्पति खाने सामान्य प्रकृतिको हुन्छ । बहुसंख्यक सलहको बाढी जसरी लाखौंको फौजले खेती बाली नष्ट गर्ने विनाशकारी क्षमता यसको खतरनाक पक्ष हो । प्रजनन दरको हिसाबले वंशवृद्धिमा धेरै समय नलाग्नाले यसलाई तिब्र गतिशील र जोखिमगर्ने मानिन्छ । अनिकाल र भोकमरीको विशेष कारण बन्न सक्ने यो जीवलाई नियन्त्रणका लागि समयमै अग्रिम रणनीति सोंचिनु अपरिहार्य हुन्छ । कोरोनाका कारण कृषि, व्यापार, व्यवसाय र उद्योग धन्दाहरु सब शिथिल परेको बेला खाद्यान्नको अभाव सिर्जना हुन सक्ने आपातकालीन समय छिटो ल्याउनमा सघाउन यसको योगदान रहन्छ ।

विगत र वर्तमानको फरक — नेपालमा हाल यो संकट आई नसकेको भन्दैंमा सुरक्षाकोे सुनिश्चितता सहज लिन मिल्दैैन । यसको वायुको वेगसंग छलाङ्ग लगाउन सक्ने तागत प्रति दिन १५० किलोमिटरका हिसाबले समग्र नेपालमा छाउन यसले बढीमा छ दिनको समय लिने छ । त्यसमा यदि हुरी बतास सामेल भइदिए फैलिने गतिको रफ्तार अझ दु्रत हुन सक्दछ । गर्मीको मौसम भर्खर शुरु हुन लागेकोले नेपालको दक्षिणी भेगबाट तराईका फाट अतिक्रमण गरेमा जाडो याम आउन बाकी पाच महिना सिङ्गै अन्नपातको नाश गर्ने लीलाको समयावधि लामो हुनेछ । यसरी देशमा हाहाकारको स्थिति नआउला भन्न सकिन्न तसर्थ रणनीतिक तयारी राज्यबाट जनस्तरमा सचेतना पूरर्याउने गुरुयोजनाहरु तर्जुमा गरिनु पर्दछ ।

विक्रम सम्वत् २०३८ सालताका नेपालले सलहको विभीषिका भोगी सकेको अनुभवका आधारमा भावी दिनको त्यो पुनरावृत्ति हुने सम्भावनालाई परास्त गर्न सरकारले जनतामा आह्वान तथा सतर्कताका लागि आवश्यक तयारीमा सक्रियता नगरे ढिला हुन सक्दछ । नेपालको राष्ट्रिय सुरक्षा नीति अन्तर्गतका यस सम्वेदनशील विषयमा सरकार गम्भीर ढंगबाट प्रस्तुत हुनु पर्दछ । यसबीच समयले ठूला परिवर्तनहरु ल्याई सकेकाले परिस्थितिको मुल्याङ्कन अलग विशेष तरिकाले हुनु जरुरी छ ।

सबका आ–आफनै उपाय — पूर्वी अफ्रिका, मध्य पूर्व र एशियाका देशहरु लगायत चीन, जापान र कोरियामा सलह एक स्वादिष्ट परिकारको व्यञ्जनका रुपमा खाने प्रचलन रहेको कथामा सिमित होइन अद्यावधि कतिपय देशहरुमा कायम रहेको छ । इस्लाम धर्मावलम्बिहरुका लागि यो जलचर प्राणी माछा सरह हलाल मानिन्छ । अर्थात यसलाई खान चाहेमा मुस्लिमलाई धार्मिक बन्देज छैन । खानेहरुका लागि मधुर स्वाद दिने प्रचुर मात्रामा प्रोटीन रहेको स्वास्थ्यप्रद आहारको रुपमा सलहको पहिचान रहेको छ । आजको आधुनिक परिवेशमा बालीनाली सखाप हुनबाट बचाउन विनाशकारी सुक्ष्म जीवजन्तु आदि नियन्त्रण गर्ने प्रयासमा किटनाशक विषादीहरुको प्रयोग अत्यधिक गरिएबाट सलहको शरीर भित्र गएका औषधिको अंश मानव शरीरको मुटु, कलेजो, मृगौला जस्ता भित्री अङ्गहरुमा रोग र बिकार पैदा गर्ने किसिमका हन्छन् । त्यसैले विगतमा जसरी निर्वाध भुटेर, पोलेर वा सादेर स्वाद मानेर खानेहरुले आफै निषेध गर्नु निसंकोच अप्रत्याशित रोगबाट बच्न उत्तम तरिका हुनेछ ।

सन् २०२० को फेब्रुअरी महिनामा पाकिस्तानको पूर्वी भागमा सलहले अन्नबाली नष्ट गरेकै कारण राष्ट्रिय संकट घोषणा गरेको थियो जसमा दैनिक एउटा पानीहाँसले दुई सय सलह खाने एक लाख संख्याको पानीहाँस चीनले पठाउने समाचारले स्थान पाएको थियो । चीनमा पनि सन् २०००मा त्यस किसिमको सलह प्रकोप विरुद्ध लड्न सिन्जियाङ्ग युगुर स्वशासित क्षेत्रमा खास किसिमको ठुलो जीउडालकोे पानीह‘ास प्रयोग भएको थियो । अन्यत्र भन्दा त्याहा‘ जनतालाई सलहले खासै असर पुर्याउन नसक्नुमा अर्को कारण स्थानीयहरुलाई नेपालीलाई दशैंतिहार आए जस्तो भएन होला अनुमान लाउन गारो छैन । अफ्रिकी मुलुक केन्यामा सलह नियन्त्रणका लागि विषादी प्रयोग नगरेर जैविक वनस्पति नीमको पात (कडा तितो स्वाद हुने) बढी प्रभावकारी रहेकोले वृहत् उपयोग गरिदैं भन्ने समाचार चर्चित रहेको थियो ।

हरित गृह, आकाशीय ओजन तह, उत्तर तथा दक्षिण गोला गोलार्द्ध लगायत जलवायुमा अकस्मात परिवर्तन र विश्व वातावरणमा विविध नकारात्मक प्रभावहरुका कारण प्रकृतिले देखाउने अस्वाभाविक बदलावहरुमा सौर्यमण्डलको ग्रह पृथ्वीको इतिहासमा ईसाई धार्मिक पुस्तक बाइबलमा समेत सलहको प्रकोपको प्रसङ्ग उल्लेखित रहेको छ ।

निष्कर्षमा यस्ता प्रकोप अनपेक्षित रुपमा बेलाबखत देखा पर्नु नौलो होइन । अतः कामना गरौं आफ्ना नागरिकहरुलाई आई पर्ने असामान्य परिस्थितिबाट जोगाउन वैज्ञानिकी भरपर्दौ उपायको अवलम्बन गर्न अग्रगामी सोंच अनुरुप सदा झैं यसमा पनि राज्यले विलम्ब नगरोस् । -जनधारणा साप्ताहिक 


१९ असार २०७७, शुक्रबार ११:४० मा प्रकाशित

 

Loading…