लकडाउन, त्यसैमाथि दलालको फन्दा : यूएईमा नेपाली चेलीको बिचल्ली !

sajha
प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार १०:५४

काठमाण्डौ –

बिरामी छोरीको उपचार गर्ने सपना र भविष्यको लागि केही पैसा जोहो गर्न वैदेशिक रोजगारीमा जानुभएकी दाङकी बिमला दमाई अहिले यूएईको एक सेल्टरमा बस्नुभएको छ ।

कुवेत जानको लागि भनेर घरबाट हिँड्नुभएकी बिमलालाई दलालले भारतको बाटो हुँदै दुबई पुर्‍याएको हो ।

छोरीको उपचारको सपना बोकेर परदेशको बाटो लाग्नुभएकी बिमला अहिले आफ्नै ज्यान जोगाउन स्वदेश फर्कने बाटो पर्खिरहनुभएको छ ।

‘केही पैसा कमाउन सके छोरीको उपचार हुन्थ्यो कि भनेर परदेश आएको, तर दलालको फन्दामा फसेछु’ बिमला आफ्ना वेदना पोख्नुहुन्छ, ‘अब त ज्यान जोगाएर घर फर्किन पाए बरु उतै दुःखजेलो गर्थें जस्तो लाग्छ ।’

दलालले यूएईबाट इराकमा बेचिदिने भन्दै धम्काएपछि अहिले उहाँ भागेर एनआरएनएको सेल्टरमा बस्दै आउनु भएको छ । उहासँग कुवेत जाने बाटो छैन, नेपाल फर्किन पैसा पनि छैन ।

बिमलालाई जस्तै धादिङकी मञ्जु तामाङलाई पनि गाउँकै शंकर तामाङले इराक पठाउने भन्दै भारत पुर्‍याए । भारतमा ९ महिना राखे । त्यसपछि यूएईबाट इराक जान सजिलो हुन्छ भनेर मञ्जुलाई यूएई पुर्याए ।

दलालको योजना त यूएईमै छोड्ने रहेछ । नेपालको दलालले मञ्जुलाई यूएईमा एउटा बङ्गाली एजेण्टको जिम्मा लगायो । त्यो एजेण्टले मञ्जुलाई कामको लागि भनेर एउटा श्रीलंकन कम्पनीमा लगाइदियो र आफू सम्पर्कविहीन भयो ।  तर त्यो कम्पनीले न काम दियो, न त राम्रोसँग खान नै दियो ।

एक महिनासम्म एक छाक मात्रै खान दिएर राख्यो । न नेपाल फर्किन दियो न इराक पठायो ।  मञ्जुले त्यो कम्पनीको म्यानेजरसँग आफूलाई नेपाल फर्काइदिन जति याचना गर्दा पनि केही लागेन । उल्टै अनेकथरी गाली सुन्नुपर्यो ।

‘म नेपाल फर्किन चाहन्छु मलाई नेपाल फर्काइदेउ भन्दा तँलाई १५ हजार दिर्हाममा किनेको हो, त्यति दे अनि जा भनेर भन्यो, हातपात पनि गर्न थाले’, मञ्जुले आफ्ना पीडा सुनाउनुभयो ।

मञ्जु नेपाल फर्किने भन्दै कम्पनीबाट भागेर यूईको अलएैन पुग्नुभयो । त्यहाँ ट्याक्सी चलाउने हिमाल नाम गरेका एकजना नेपालीले उहाँलाई सहयोग गर्नुभयो । केही दिन आफ्नो कोठामा बस्न दिनुभयो । त्यसपछि उहाँ एनआरएनएको सहयोगमा बस्न थाल्नुभयो ।

सिन्धुपाल्चोक बोल्दी–६ की सुकरानी तामाङ पनि मञ्जु र बिमलाको जस्तै दलालकै भर परेर फस्नुभयो ।  सुकरानीलाई पनि दलालले कुवेत पठाउने भन्दै यूएई पुर्याएर अलपत्र पार्यो । सुकरानी एक्लै आउनुभएको होइन । उहाँले लागेको ऋण तिर्ने र परिवारलाई खुशी बनाउने सपना बोकेर आफ्नी छोरीसँगै परदेशको बाटो लाग्नुभएको हो ।

तर दलालको पासोमा परेर उहाँको सपना चकनाचुर भयो । एउटै जहाज चढेर दुबई झरेकी छोरीसँग समेत सम्पर्क हुन सकेको छैन । उहाँलाई आफ्नो भन्दा बढी आफ्नी छोरीको चिन्ता लाग्न थालेको छ ।
आफू बाँचेर नेपाल फर्किन पाए छोरीलाई फर्काउन सक्थें भन्ने उहाँलाई लागेको छ ।

‘कमाउँछु भनेर आएको एक पैसा कमाइएन, नेपाल फर्किन टिकट काट्ने पैसा छैन’, सुकरानी भन्नुहुन्छ, ‘छोरी जहाँ भए पनि सकुशल भइदिए हुनेथियो ।’

१५ हजार दिर्हाममा बेचिएकी मञ्जु लगायत ३ जना अहिले यूएईको अलएनमा एनआरएनले दिएको खाना खाएर एनआरएनएकै शरणमा हुनुहुन्छ । तीनै जना भिजिट भिसामा जानुभएको थियो । भिसाको म्याद पनि सकिन थालिसक्यो । उहाँहरुको राहदानी पनि एजेण्टसँगै छ । त्यसैमाथि साथमा पैसा पनि छैन । त्यसैले उहाँहरुलाई घर फिर्ती प्रक्रियामा जान पनि असहज भइरहेको छ ।

सरकारबाट उद्धारको आशा

सुकरानी, बिमला र मन्जु जस्तै दलाल र लकडाउनबाट एकैपटक मारमा परेका धेरै नेपाली स्वदेश फर्किने बाटो हेरेर बसेका छन् । उनीहरुसँग न त पासपोर्ट छ, न त स्वदेश फर्किनको लागि चाहिने जति पैसा नै । खान र बस्न समेत समस्या भइरहेको छ ।

दलालको चँगुलमा फसेर आफ्नो पासपोर्ट पनि साथमा नभएका धेरै नेपालीहरु सहयोगको प्रतिक्षामा छन् ।

साथमा पैसा नभएका र गुजारा गर्नको लागि काम नभएकाहरुलाई सरकारले निःशुल्क उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ ।

टिकट काट्ने पैसासमेत नभएर विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । मन्त्रिपरिषदले निर्देशिका स्वीकृत गरेसँगै टिकट काट्ने पैसा नभएर विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार गर्ने बाटो खुलेको छ ।

कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा पनि फर्कंन नसक्ने अवस्थामा श्रमिकलाई सम्बन्धित देशमा रहेका दूतावासको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत निःशुल्क उद्धारको व्यवस्था गरेको छ । तर निःशुल्क उद्धारको काम कहिलेदेखि हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन ।


३ श्रावण २०७७, शनिबार १०:५४ मा प्रकाशित

 

Loading…