मुस्लिम बाहुल्य रहेको कपिलवस्तुमा बकरिद धुमधामका साथ मनाईदै

sajha
प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार १७:१७

गोपााल भण्डारी, कपिलवस्तु

कपिलवस्तु । मुस्लिम समुदायको ईद पछिको दोस्रो ठुलो पर्व इदुल अजाह अर्थात बकरिद आज जिल्लामा धुमधामको रुपमा मनाईएको छ । मुस्लिम समुदायको बाहुल्य रहेको कपिलवस्तुमा मुस्लिम समुदायले धार्मिक सहिष्णुताको सन्देश दिंदै हिन्दु समुदायसंग पनि शुभकामना आदान प्रदान गर्दै खुशीयालीका साथ पर्व मनाईरहेका छन् ।

अघिल्ला वर्षहरुको बकरिद पर्व भन्दा यस वर्षको बकरिद पर्व भने घर घरमा मनाईएको छ । कोभिड १९ को माहामारीको संक्रमणबाट बच्न यहांका मुस्लिम समुदायले घर घरमा घरपरिवारको साथमा नमाज बढेर पर्व मनाएको कपिलवस्तु नगरपालिका वडा नं. १ का मुस्लिम अगुवा मुक्तार अहमद खांले बताए । अघिल्ला वर्षहरु जस्तो सामुहिक नमाज पढिएको छैन, खांले भने, ईदुल अजाहाको नमाज घर घरमा पढी सके पछि हामी आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिएका छन् ।

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा ईस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भै ईस्माईलको ठाउंमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको मुस्लिम अगुवा रउफ अहमद खांले बताए ।

आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, रांगा एवं पाठी बली दिएर कपिलवस्तुका मुस्लिमहरुले कुरवानी मनाएका छन् । कुरवानीको मासु उनीहरु ३ भाग लगाएर पहिलो भाग गरीवहरुका लागि दोस्रो भाग साथीभाई ईस्टमित्रका लागि र तेस्रो भाग परिवारमा राखेर खाईरहेका छन् ।

बकरईदको शुभकामना आदान प्रदान गर्न सदरमुकाम तौलिहवाका विभिन्न चोक र गल्लीहरुमा मुस्लिमहरु जम्मा भै खुशीयाली साटासाट गरेका छन् । बकरईदका दिन कपिलवस्तुका मुस्लिमहरुले हिन्दु तथा अन्य धर्मावलम्वीका व्यक्तिहरुलाई आफ्नो घरमा निमन्त्रणा गरी सामुहिक रुपमा खुशीयालीका साथ पर्व मनाईरहेका छन् ।


१७ श्रावण २०७७, शनिबार १७:१७ मा प्रकाशित

 

Loading…