कोरोनापछिको विश्व : नयाँ शक्ति समीकरणको सम्भावना

sajha
प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार १९:३७

दोस्रो विश्वयुद्धपछि संसारमा विकासको नेतृत्व अमेरिकाले गरेको मानिन्छ। स्वयं अमेरिका आफूलाई स्वघोषित विश्व नेता मान्छ। यो सत्य हो वा होइन बहसको विषय हो। सत्य मान्ने हो भने एउटा प्रश्न खडा हुन्छ– अमेरिका नेतृत्वको विश्वले कस्तो विकास गरेछ त?

सँगै अर्को पनि प्रश्न उठ्छ– बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनी, बेल्जियम, इरान, दक्षिण कोरिया, इरान, साउदी अरब, जापान, अस्ट्रेलिया, भारत, चीन, रुसजस्ता राष्ट्रले केका आधारमा शक्तिको मूल्यांकन गरेका रहेछन्?

हो, एकताका अमेरिका शक्तिसम्पन्न थियो। सबैले स्वीकार पनि गर्थे। टाइम पत्रिकाका संस्थापक प्रकाशक हेनरी लुसेले त ‘अमेरिकी शताब्दी’ नै प्रचलनमा ल्याए। तर कोरोनाले अमेरिकाको यस अवस्थामा परिवर्तन ल्याएको छ।

अमेरिकाबारे यहाँ द्वन्द्व र शान्तिसम्बन्धी प्रख्यात विद्वान् योहान गाल्टुनको अभिव्यक्ति सान्दर्भिक छ। उनले २००९ मा आफ्नो पुस्तकमा भविष्यवाणी गरेका थिए– सन् २०२० सम्ममा अमेरिकी साम्राज्य पतन हुनेछ।

यद्यपि भविष्यवाणी सबै सत्य हुँदैनन्। कोरोना महामारी न्यूनीकरणका सन्दर्भमा सबैको ध्यान अमेरिकातर्फ केन्द्रित छ। तर अमेरिका स्वयं अन्योलमा छ। मानसिक रूपमा अमेरिका अहिले जति निरीह इतिहासमा कहिल्यै देखिएको थिएन।

कोरोना महामारीले स्वयं अमेरिका आजित छ। निश्चय पनि यतिबेला उसको ‘शक्ति’ कम हुँदै गएको छ।

त्यसो त गाल्टुनको भविष्यवाणी असत्य साबित गर्ने अवसर अमेरिकासँगै छ। यसका लागि उसले कोरोनासँग विजय हासिल गर्नुपर्छ। अमेरिकाले अहिलेको महामारी जित्न सकेन भने उसको शक्ति थप कमजोर हुँदै जानेछ। विश्वको शक्ति समीकरणमा ठूलै परिवर्तन आउनेछ।

अमेरिका, स्पेन, नर्वे, भारतजस्ता देशले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट बचाउन मलेरिया र एचआईभी संक्रमणको उपचारमा प्रयोग गरिने औषधि प्रयोग गर्न अनुमति दिएकोे चर्चा छ। उनीहरूले विश्व स्वास्थ्य संगठनको स्वीकृतिबेगर यस्तो निर्णय गरेका हुन्। यसले ती देशहरू हतोत्साहित हुँदै गएको संकेत गर्छ।

कोरोना महामारी नियन्त्रणमा विलम्ब भइरहँदा अर्को ग्रहको अनुसन्धान गर्न हिँडेको मानिसले आफ्नै ग्रहका बारेमा यथेष्ट जानकारी प्राप्त गर्र्न सकेको रहेनछ भन्ने स्पष्ट भएको छ।

सबैभन्दा ठूलो मानिसको जीवन र अस्तित्व हो। शक्तिको सम्बन्ध जीवनसँग छ। भाइरसको वर्तमान कहरले जीवनमाथि कसैको नियन्त्रण रहेनछ र प्रकृतिसामु सबै शक्तिहीन रहेछन् भन्ने पुष्टि गरेको छ। त्यसैले त सम्पूर्ण विश्व अनिर्णयको बन्दी बनेको छ।

आजको विश्व मानव जीवनलाई अधिकतम रुपमा परिष्कृत र सुविधासम्पन्न बनाउन केन्द्रित छ। यही केन्द्रीकृत अवधारणालाई ‘विकास’ नाम दिइएको छ। कोरोना महामारीको अवस्थामा ‘विकास’ को मूल्यांकन गर्ने मानिससँग यस्ता प्रश्नको स्पष्ट उत्तर छैन– विकासको लाभ के हो? विकासको लक्ष्य के हो? विकास कसका लागि?

मानव सभ्यताको इतिहासमा अनेक प्रगति गरिसकिएको दाबी गरिएका बेला कोरोनाविरुद्ध लड्ने क्षमताको विकास गर्न सकिएको रहेनछ। अकालमा मृत्यु भएकाको जीवनरक्षा गर्न हाम्रो विकास अपूर्ण रहेछ। त्यसैले विकासलाई नयाँ ढंगले परिभाषा गर्नुपर्ने बेला भएको छ।

कोरोना भाइरसले विश्वका कुनै पनि देशलाई छोडेको छैन। कुनै पनि व्यक्तिलाई माया गरेको छैन। यसले कसैसँग भेदभाव पनि गरेको छैन। आँखाले नदेखिने भाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त बनाइदिएको छ।

सम्पूर्ण सृष्टि र प्रकृतिमाथि नै विजयको सपनाका साथ अघि बढिरहेको मानव समुदाय निरीह बनेको छ। यसको उपचारका सन्दर्भमा कुनै सफलता प्राप्त हुन सकिरहेको छैन, न त कुनै भ्याक्सिन (खोप) बन्न सकेको छ न त कुनै अन्य औषधिकै विकास हुन सकेको छ।

वैज्ञानिकहरु उपचार खोज्न क्रियाशील रहे पनि सफलता प्राप्त हुन सकेको छैन। पछिल्लोपटक विभिन्न देश खोपको विकासमा जुटेका छन्। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिलेसम्म कुनै खोपलाई मान्यता दिएको छैन।

डब्ल्यूएचओले स्वीकृति नदिए पनि रुसले त्यहाँ निर्माण गरिएको भनिएको खोपलाई प्रयोगमा ल्याउने जनाएको छ। योसँगै कतिपय मानिस विश्वमा अघोषित रूपमा ‘भ्याक्सिन युद्ध’ सुरु भएको भन्न थालेका छन्। रुसले डब्ब्लयूएचओको स्वीकृतिविना नै खोप प्रयोगको जुन जोखिम मोलेको छ। त्यसलाई कतिपयले नयाँ ढंगले शक्ति आर्जन गर्ने कुरासँग पनि जोडेका छन्।

निश्चय पनि जुन देशले कोरोनाविरुद्धको खोपको अविष्कार गर्छ, त्यो देश भोलि विश्व शक्ति सूचीमा स्थापित हुने पक्का छ।


४ भाद्र २०७७, बिहीबार १९:३७ मा प्रकाशित

 

Loading…