कांग्रेस नेता राजेश्वर सिंहको निधन

sajha
प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार २१:५३

साझा न्यूज । तौलिहवा
कपिलवस्तु । नेपाली कांग्रेसका नेता राजेश्वर सिंहको उपचारका क्रममा आईतवार बुटवलमा निधन भएको छ । विभिन्न दिर्घ रोगका कारण उपचाररत रहेका सिंहको ७१ वर्षको उमेरमा मृत्यु भएको हो । नेता सिंह नेपाली कांग्रेस क्षेत्र नं. २ क का क्षेत्रिय सभापति तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ मानपुरका वडा अध्यक्ष हुन् ।

सिंहको निधनको खबरबाट सिंगो नेपाली कांग्रेस निकै स्तब्ध बनेको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताए । नेता सिंहको निधनबाट सिंगो नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको छ, सभापति आचार्यले भने, “शोकको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति सिंगो नेपाली कांग्रेसको हार्दिक समवेदना छ ।”

बुद्धभूमि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता सिंहको निधनबाट बुद्धभूमि नगपालिकालाई गहिरो चोट परेको नगर प्रमुख केशव श्रेष्ठले बताए । वडा अध्यक्ष सिंहको निधन प्रति नगरपालिकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

नगर प्रमुख श्रेष्ठले सिंगो नगरपालिकाको विकासमा सिंहको योगदानको स्मरण गरेका छन् । वडा मात्र नभइ नगरको विकासमा स्वर्गीय नेता सिंहले पुर्याएको योगदानको नगरपालिकाले सदैव स्मरण गर्दे उहांले वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पारी स्वर्गीय नेताको स्मरणलाई सदैव ताजा राख्ने नगर प्रमुख श्रेष्ठले बताए ।

नेता सिंह लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा क्रियाशिल रहदै आएका थिए । सिंह साविक जिल्ला विकास समितिका इलाका सदस्य समेत भएका थिए ।

स्वर्गीय नेता सिंहले नेपाली कांग्रेस तत्कालिन क्षेत्र नं ४ को क्षेत्रिय सभापतिको रुपमा जिम्मेवारी समेत सम्हालि सकेका थिए ।
नेपाल कांग्रेसका जुझारु नेता स्वर्गीय सिंह लोकतन्त्र र प्रजातन्त्रको लागि निरन्तर लडिरहेका प्रजातन्त्रका योद्धा समेत रहेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

यसै विच नेपाल प्रेस यूनियन कपिलवस्तुले पनि नेता सिंहको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारीले शोक बक्तव्य जारी गर्दै आफ्ना अभिभावकका रुपमा रहेका स्वर्गीय नेता सिंहको निधनबाट आफुहरु निकै मर्माहित रहेको बताए ।

स्वर्गीय नेता सिंहको निधन प्रति नेपाली कांग्रेसका नेता दीप कुमार उपाध्याय, पुर्व पार्टी सभापतिहरु राजेश आचार्य, सुधाकर पाण्डेय, जिल्ला उपसभापति अब्दुल कलाम, जिल्ला सचिव महेन्द्र पाठक, जिल्ला सचिव प्रेम बहादुर राजमाझी, कोषाध्यक्ष शोहरत तेली लगायतका नेताहरुले शोक मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

स्वर्गीय नेता सिंहको निधन प्रति नेपाली कांग्रेसका नेता तथा सांसद अभिषेक प्रताप शाह, सांसद अतहर कमालले पनि शोक समवेदना प्रकट गरेका छन् । नेता सिंहको अन्तिम दाह संस्कार बुद्धभूमि नगरपालिका वडाको महादेवा घाटमा सोमवार दिउसो १२ बजे गरिने कार्यक्रम रहेको परिवारजनले बताएका छन् ।


१४ भाद्र २०७७, आईतवार २१:५३ मा प्रकाशित

 

Loading…