भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

sajha
प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार २१:१४

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । झण्डै एक महिनाअगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुन पुगेका पूर्वराष्ट्रपति मुखर्जीको सैनिक अस्पतालमा उपचार भइरहेको थियो । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले सोमबार (३१ अगष्ट) जनाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

पूर्वराष्ट्रपति मुखर्जीका छोरा तथा पूर्वसांसद अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।

अभिजितले ट्वीटमा लेखेका छन्, “भारी हृदयका साथ यो जानकारी गराउन बाध्य छु कि मेरा पिता प्रणव मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सबै सुभेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

दिवंगत मुखर्जी भारतको १३औँ राष्ट्रपति बनेका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुपहिले भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेतासमेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्रीसमेत भएका थिए । उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो ।


१५ भाद्र २०७७, सोमबार २१:१४ मा प्रकाशित

 

Loading…