अष्ट्रियाको राजधानी भिएनामा किन पस्यो आतंकवाद ?

sajha
प्रकाशित मिति: २० कार्तिक २०७७, बिहीबार १३:२४

–लोकनारायण सुवेदी

यूरोपेली  देश आस्ट्रियाको राजधानी भिएनामा गएको  सोमवार राती भएको  आतंककारी हमलाले नराम्रोसँग हल्लाइदियो । त्यस हमलामा सात जना मानिस मारिए भने पन्ध्रजना घाइते तुल्याइए । डरलाग्दो कुरा यसमा के छ भने हमलाकारीले राजधानी भिएनाका ६ ठाउमा गोली चलाएका छन् र इण्टरनेटमा एउटा भिडियो मार्फत अत्याधुनिक हतियारले त्यो  गोली काण्ड मच्चाइरहेको अवस्था प्रकाशमा ल्याएका छन् । यस भयावह दृष्यलाई अहिले भारतको  मुम्बईमा केही वर्ष पहिला गरिएको जस्तै हमला भनेर पनि तुलना गर्दै रहेका पाइन्छ । हुन त त्यो इण्टरनेटमा  चलिरहेको भिडियोको सत्यताको पुष्टी गरिएको छैन । यद्यपि गोली काण्डको त्यो घटना  भिएनाको केन्द्रिय सिनेगाको नजिक भएको छ, जुन त्यो शहरको मूख्य केन्द्र हो र त्यहाँ यहूदी मन्दिर रहेको छ ।

अहिलेसम्म त दाबीकासाथ कसैले पनि भन्न सकेको छैन कि हमलाको निशाना त्यही स्थान नै छनौट गरिएको थियो । यसमा खाश कुरा के छ भने यो हमला त्यतिबेला भएको छ जतिबेला अष्ट्रियामा कोरोना महामारीका विरुद्ध लकडाउनको दोश्रो चरण शुरु हुन केही घण्टा मात्र बाँकी रहेको थियो । यसमा उल्लेखनीय छ कि कोरोना संक्रमणको बढ्दो क्रमसंख्या पछि सम्पूर्ण अष्ट्रियामा यसका विरुद्ध नयाँ किसिमले कडाई लागु गरिन थालेको थियो । यसले गर्दा धेरैजसो मानिसहरु शराबखाना र रेस्टूराँहरुमा जुन मजा उठाइरहेका थिए अब ती गतिबिधिहरु नोभेम्बरको अन्त्यसम्मका लागि बन्द गरिएका थिए । अष्ट्रियाका चान्सलर सेबेल्टियन क्रूजले यस घटनालाई आतंकारी घटना भन्ने औंल्याएर आफुहरु आतंबादसँग नडराउने र यसको सामना हर किसिमले गर्ने बताएका छन् ।

उता भियनामा यहूदी समुदायका प्रमुख ओस्कर ड्यूटसले  भनेका छन् कि यसमा के स्पष्ट छैन भने यो हमलाले मूख्य उपासना गृहलाई निशाना बनाएको थियो कि थिएन ? भिएनाको यो हमलालाई विश्वभरीका देशहरु खाशगरी अमेरिका, चीन,बृटेन, जर्मनी, भारत लगायतले निन्दा र दुःख ब्यक्त गर्दै बिरोध जनाएका छन् ।

अनि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोले ट्वीट गरेर भिएनामाथिको त्यो हमलालाई दुःखद् भनेका छन् । उनले भनेका छन् कि फ्रन्सपछि हाम्रो निकटको देश अष्ट्रियालाई निशाना बनाइएको छ । हाम्रा दुश्मनहरुलाई थाहा हुनु पर्ने हो कि हामी झुक्दैनौ तर मिलेर लड्छौं । ज्ञातब्य छ कि फ्रान्समा यतिबेला आतंकबाद र इस्लामिक कट्टरतालाई लिएर ठूलो बिबाद चलिरहेको छ । केही दिन पहिला पैगम्बर मोहम्मद साबहको कार्टुन कक्षामा देखाइदा त्यस बिद्यालका एक शिक्षकको नृशंश हत्या गरिएको थियो । जसमाथि फ्रान्सको सरकारले कडा प्रतिकृया प्रकट गरेको थियो । स्वयं राष्ट्रपति इमान्युएल म्याँक्रोले त्यसलाई ‘इस्लामिक कट्टरता’को संज्ञा दिएका थिए । त्यसपछि फ्रान्सको निश शहरमा चर्च बाहिर एक २० बर्षका युवकले चक्कू हानेर तीनजना मानिसको हत्या गरिदिएका थिए । राष्ट्रपति म्याक्रोंले इस्लामी कट्टरपन्थको पेच अझ कसिने पनि कुरा  गरेका थिए र त्यसलाई लिएर मुस्लिम देशहरुका नेताहरुले उनीमाथि ‘इस्लामोफोबिया’लाई बढावा दिएको आरोप लगाएका थिए । 

यस सम्वन्धमा पाकिस्तान, इरान, तुर्की, बंग्लादेश र मोरक्को लगायतका कयौं देशहरुले म्याक्रोंको बक्तब्यलाई लिएर अप्रसन्नता प्रकट गरेका थिए भने भारतका कतिपय शहरहरुमा म्याक्रोंको कुरालाई लिएर बिरोध प्रदर्शन समेत गरिएको थियो । हुन पनि आतंकबादको कुनै धर्म हुँदैन नै । यद्यपि फ्रान्सका राष्ट्रपति म्याक्रोंले हालै के पनि भनेका थिए भने ‘उनी बुझ्न सक्दछन् कि पैगम्बर मोहम्मदको कार्टुनबाट मुस्लिम समुदायलाई धक्का या हैरानी अबश्य लागेको छ तर हिंसालाई स्वीकार गर्न सकिदैन’ । 

अर्कोतिर यूएईले फ्रान्सको समर्थन गरेको छ । अबूधाबीका क्राउन प्रिन्सले यस सम्वन्धमा भनेका छन् कि पैगम्बर मोहम्मका निम्ति मुसलमानहरुको मनमा अगाध आस्था छ तर बिषयमालाई हिंसासँग जोड्ने र यसलाई राजनीतिकरण गर्ने कुरा बिल्कुलै अस्वीकार्य छ । निश्चय पनि यो सही कुरा हो कि कुनै पनि प्रकारको हिंसा या आतंककारी हमलाको राजनीतिकरण गरिनु हुन्न । तर यतिबेला विश्वस्तरीय राजनीतिमा यो साधारण कुरा जस्तो भइसकेको छ । धर्मका आडमा कतिपय मानिसहरु आतंककारी गतिबिधिको कारोबार गरिरहेका छन् र यस कुराको प्रमाण यो छ कि बिश्वका शक्तिशाली देशहरुले यस्ता कारोबारलाई ठूलो बढाउन मद्दत गर्ने गरेका छन् । जस्तो कि अमेरिकाको मद्दतले तालिबान खडा गरिएको कुरा जग जाहेर छ ।

तथापि अब अमेरिका स्वयंलाई भने एउटा शान्तिदूतकारुपमा प्रस्तुत गर्ने गरिरहेको छ । आफ्नो आर्थिक र राजनीतिक स्वार्थहरुका लागि बिश्वभर यस किसिमका खेलहरु खेलिदै आएको देखिन्छ । त्यसले गर्दा समेत आज बिश्वमा आतंकबाद ‘बिषको घडा’ जस्तै बनेर फैलिदै जान थालेको छ । अनि यसका लागि धर्मलाई जिम्मेवार ठहराउन थालिएको छ । ‘इस्लामिक कट्टरपन्थ’ जस्ता शब्द बिन्यास गरेर गुमराह गरिन थालेको छ । जब कि सत्य के हो भने कट्टरता प्रायःजसो सबै धर्ममा रहेको छ र उदारता पनि त्यसरी नै हरेक ठाँउमा खडा रहेको हुन्छ ।

हालै बंगलादेशमा कथित इस्लाम बिरोधी फेसबुक पोष्ट पछि हिन्दूहरुका घर र मन्दिरहरु पनि जलाइएका मुद्दाहरुमा त्यहाँका गृहमन्त्री असदुज्जमा खान कमाले कडा कारबाही गर्ने आदेश दिइसकेका छन् । ती गृहमन्त्रीले भनेका छन् कि कट्टरपन्थीहरुलाई सहन गरिने छैन । 

हुन त कट्टरताको शिक्षा कुनै धर्ममा पनि शायद छैन । केवल स्वार्थले भरिएको राजनीतिमा यो कुरा आउँछ । आतंकवादका विरुद्ध लडाई लड्ने दाबी गर्नेहरुले यो कुरा नबिर्सिकन याद राखिरहनु अत्यावश्यक रहेको देखिन्छ ।


२० कार्तिक २०७७, बिहीबार १३:२४ मा प्रकाशित

 

Loading…