मान्छेको स्वतन्त्रतामा कोरोनाको नियन्त्रण, कहिले फर्किएला सहज र सामान्य जीवनयापन

sajha
प्रकाशित मिति: २३ कार्तिक २०७७, आईतवार १७:५२

-मनिषा कार्की 

कस्तो महामारी मानव जिवनमा देखा पर्यो न कसैलाई छुन सकिन्छ , न साथिभाइसँग निर्धक्क भेटघाट गर्न सकिन्छ नत बाहिर खुलेआम घुमघाम गर्ननै सकिन्छ ?  हो यतिबेला संसारका आम नागरिकहरुले महशुस गरिरहेका छन् मान्छेको स्वतन्त्रता के रहेछ भनेर एक हिसाबले मान्छेलाई कोरोनाले आफ्नो कैदखानामा बन्धक बनाएको छ । 

कोरोना भाइरसले विश्वमा प्रवेश गरेको एक वर्ष पुग्दा समेत यो भाइरसले मान्छेमा आक्रमण गर्ने रफ्तार छोडेन । अझ भनौ जति लामो समय भयो त्यति कमि हुनुको साटो झन तिव्र रुपमा बढिरहेको छ । 
कस्ले कल्पना गरेको थियो र २०१९ नोभेम्वरमा  चिनमा देखा परेको  कोरोना भाइरस विश्वभर फैलिएर मानव जगतमा यति ठुलो असर गर्छ भनेर यतिबेला विश्व कोरोना भाइरस (कोभिड-१९) बाट ग्रसित छ । भने कोरोनाले सामाजिक, आर्थिक र मनोबैज्ञानिक पक्षमा दुरगामी असर पार्नुका साथै राजनीतिका क्षेत्रमा पनि प्रभाव पारेको छ ।  कोरोना भाइरसको भ्याक्सिन तथा औषधि हालसम्म पत्ता लागेको छैन भने विकसित देशका बैज्ञानिकहरुबिच कसले छिटो भ्याक्सिन पत्ता लगाउने भन्ने होड नै चलिरहेको छ । 
कोरोनाले विश्व अर्थतन्त्रलगायतका अन्य क्षेत्रमा गम्भीर चुनौती दिइरहेको छ जसबाट नेपाल पनि अछुतो रहन सकेन । कोभिड-१९ नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी घोषणा पनि गर्यो तर उचित सामना गर्न सकेन बरु भ्रष्टाचार, अत्याचार, बलात्कार, हत्या हिंसा जस्ता अनैतिक कार्यलाई प्रोत्साहन मिल्यो । 
 
यसअघि पनि यस्ता धेरै महामारीबाट मानिस गुज्रिन बाध्य भयो जसबाट मानव जीवन नै संकटमासमेत पुगेको विश्वको इतिहास साक्षी नै छ । विकसित देशहरुसमेत महामारीको चपेटामा परेको बेला नेपाल जस्तो विकासोन्मुख देश जहाँ महामारीसँग लड्ने न कुनै भरपुर पूर्वतयारी थियो न कुनै सुरक्षाका लागि आवश्यक तयारी नै ? अझ दुखको कुरा क्वारेन्टाइनमानै नेपाली चेलि बलात्कार समेत भएको खबर बाहिरियो ।
नेपालको सन्दर्भमा कोरोना महामारीबाट सन २०२० को भ्रमण वर्ष स्थगित हुन पुग्यो जसले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २.५ प्रतिशत ओगटेको पर्यटन व्यवसाय थप संकटग्रस्त बन्दै गयो । रेमिट्यान्समा चलेको देश विप्रेषण कमि हुँदा गरिबी बढ्दै गयो । रोजगारीको अवस्था लगभग ठप्प जस्तै भयो, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा झन चुनौती थपिदै गए, रोगले भन्दा भोकले मर्ने स्थिति सृजना भयो, देशका बैंकिङ तथा बित्तीय क्षेत्र थलिदै गए भने कृषिले बजार नपाउँदा घाटा व्यहोर्नुपर्यो त उपभोक्ता मारमा परे । महामारीमा पनि किसान मलको अभावमा घण्टौ लाइन बस्नुपर्‍यो । लाइन बसे तर न मल पायो न धान सप्रीयो । 
त्यतिमात्र होइन बन्दाबन्दीका बेला एक ठाउँबाट अर्को ठाउँमा जान पासका लागि पावर लगाउनुपर्ने अवस्थासमेत आइपर्यो । भाडा दिन नसक्दा घरबेटीले निकालेको र ज्यानसमेत लिएको, बन्दकै अवधिमा  हत्या हिंसा, बलात्कार, जातीय विभेद, लागुऔषध ओसारपसारमा वृद्धि, भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन, एमसिसी खारेजको माग गर्दै आन्दोलन, दलित हकअधिकारसम्बन्धी आन्दोलन, शव व्यवस्थापनबारेको आन्दोलन, पत्रकार आन्दोलन, विद्यालय सञ्चालकको आन्दोलनजस्ता समाचार सुन्दा उदास र निरास बन्नुपरेको छ । सरकारले कोरोना बिरामीको उपचारसम्म आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गर्यो जुन पछिल्लो समय निकै विवादमा रह्यो ।
कोरोना महामारीसँगै मुलुकमा जताततै भ्रष्टाचार भित्रीयो मुलुकमा विभिन्न ठाउँमा आन्दोलन प्रदर्शन पनि भयो । प्याजमा भ्रष्टाचार, बिरामी उपचारका लागि खरिद गरिएको पीसीआर मेसिनमा भ्रष्टाचार, स्थानिय तहको सेवा सुविधामा भ्रष्टाचार, रासायनिक मलमा भ्रष्टाचार र सम्झौता अनुरुप आपूर्ति काम नगर्ने यी त केही उदाहरण मात्र हुन् । झण्डै दुई  तिहाईको बलियो सरकार आफ्नो पार्टीभित्रको आन्तरिक  किचलोको चक्रमा रुमलिरहदा यस्ता क्षेत्रमा ध्यान जान सकेन । महामारीको चुनौतीसँगै नेपाल प्राकृतिक विपत्तिको सामना गर्न वाध्य भयो । मौसम अनुसारको प्राकृतिक विपत्ति बाढीपहिरो जस्ता अन्य विपदमा परी एकै परिवारका ६ जनाको मृत्यु भयो, सयौंले ज्यान गुमाए भने हजारौं घरबारबिहिन भए त धेरै अझै पनि बेपत्ता छन् । 
हामीले खाना खाँदा होस या बेलुकीपख होस यस्ता समाचार नसुनेका पनि हैनौ कि क्वारेन्टाइनमा बसेकी एउटी महिला बलात्कृत भइन, भर्खर जन्मेकी शिशु बलात्कारको शिकार बनेर संसार नदेखि बिदा भइन जसलाई यो पनि थाहा छैन कि उ महिला हो भनेर । नेपालमा दिनहु जसो ६ देखि ७ जना महिला बलात्कार भइरहेका छन तर सरकारलाई कुनै वास्ता छैन । यससम्बन्धी सरकारले न त कडा नितिनियम बनायो न त कार्यन्वयनमा ल्यायो । जनाताले जिताएको सत्तामा बस्ने साढेलाई कत्ती पनि चेत आयन नेपाली चेली कति बेचिएका छन् र कति सुरक्षित छन् । घरमै त सुरक्षित नहुने चेली अन्त कहाँ सुरक्षित होला र ?भाग्यमानी महिला उनी हुन्छिन जो बेचिदा बेचिदै बचेकी छिन । २ वर्ष बितिसक्दा पनि न्याय नपाएकी निर्मला र त्यसपश्वात बलत्कृत भई मारिएकी सम्झना बिकको आत्माले नेपाल याे व्यबस्थालाई सधैं सताइरहनेछ ।
मुलुकको गृहमन्त्री पदको जिम्मेवारी वहन गरेका गृहमन्त्री रामबहादुर थापा जसले भने, “बलात्कारसम्बन्धि घटना नयाँ र नौलो होइन यसकिसिमका घटना र प्रकरणहरु यश अगाडि थिए, आज पनि छ र पछि पनि हुनेछ । यसलाई हामी पुर्ण रुपमा निषेध गर्न सक्दैनौं ।” यस अभिव्यक्तिले के सार दिन्छ ? तिमि बलात्कार गर्दै जाउ हामी आन्दोलन हेर्दै जान्छौ त भनेको होला नि । जिम्मेवार पदिय नेताले यस्तो भाषण  छाट्दा आम नागरिकले के बुझे होलान ?
नेपाल सरकारले यस्ता समस्या समाधानका पर्याप्त  उपाय अपनाउन सकेन । विदेशबाट १ लाख २२ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । बेरोजगारहरुलाई देशमै रोजगारको अवस्था कसरी सृजना गर्ने भन्ने सरकारसँग कुनै दुरदर्शी योजना छैन । 
विदेशबाट फर्किएका युवा र देशमै भएका युवाको ज्ञान्, सीप, क्षमता र दक्ष विदेशबाट फर्किएका युवा र देशमै भएका युवाको ज्ञान्, सीप, क्षमता र दक्षताका आधारमा सम्बन्धित क्षेत्रमा सदुपयोग गर्ने मौका प्रदान गरे, कोरोनाले थलिएका बैंकिङ तथा बित्तीय क्षेत्र, यातायात व्यवसाय, पर्यटन व्यवसायलगायतका अन्य क्षेत्रमा आर्थिक राहत प्याकेजको व्यवस्था गरे, व्यवसायी र सरकारबिच आपसी समझदारी सम्झौता गरे तहसनहस भएका पक्ष पुनः पहिलेकै अवस्थामा ल्याउन र चलायमान बनाउन सहयोग पुग्नेछ । र अब काेराेना कहर सकिने समय कसैले पनि एकिन गर्न नसकिने हुँदा पनि कोरोना संक्रमित हुनबाट बचेर दैनिक जीवनयापन गर्न सरकारले महत्त्वपूर्ण कदम चाल्न जरुरी रहेको छ । साझा न्यूज साप्ताहिकबाट

२३ कार्तिक २०७७, आईतवार १७:५२ मा प्रकाशित

 

Loading…