बाइडेनको बिजयले के फरक पर्ला र अमेरिकी बिश्व–सम्बन्धमा ?

sajha
प्रकाशित मिति: २४ कार्तिक २०७७, सोमबार ०९:५६

अमेरिकी राष्ट्रपति निर्बाचनको प्रष्ट तस्वीर आइसकेको छ । जो बाइडेन राष्ट्रपतिमा र कमला ह्यारिस उप राष्ट्रपतिमा बहुमतकासाथ निर्बाचित भइसकेका छन् । अब आउदो चार बर्षका लागि अमेरिकी शासन प्रशासनको जिम्मा अमेरिकी मतदाताले जो–कमला जोडीलाई दिएका छन् । मत गणनालाई लिएर राज्य र संघीय सर्बोच्च अदालततिर शरण लिन पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यबधानले अब जो बाइडेनलाई ह्वाइट हाउस ओभल अफिसमा पुग्न रोक्ने सक्ने गुञ्जायश रहेको देखिदैन ।

डोनाल्ड ट्रम्पले आफ्नो चार बर्षीय शासनको कार्य कालमा अमेरिकी राजनीति र सामाजिक जीवनलाई प्रभाबित तुल्याउने सत्ता प्रतिष्ठानसँग जुधिरहको औल्याइन्थ्यो । अमेरिकी मूख्य धाराका सञ्चार माध्यहरुका साथै अमेरिकाका लिबलर ठानिने बुद्धिजीबी समुदाय, त्यहाँको नागरिक समाज, सैन्य–औद्योगिक कम्प्लेक्स र युद्ध मार्फत नाफा कमाउनेतन्त्रको बिरोधको उनले सामना गर्नु परेको अहिले पनि दशाइदैछ । उनलाई अफ्नै रिपब्लिकन पार्टीको तर्फबाट पनि आधा अधूरो समर्थन मात्रै रहने गरेको देखिएको पनि बताइदै आएको हो । यी सबै कुरा हुँदाहुँदै पनि चुनाबमा डोनाल्ड ट्रम्पको प्रदर्शन कम आश्चर्यजनक रहेन । जनमत सर्बेक्षणका अनुमानहरुलाई बेवास्ता गर्दै उनले अमेरिकी मतदाताहरुको उनीसँगको आशा र भरोसाबाटै अधिक समर्थन हासिल गरेको पनि औंल्याइदैछ । त्यसको प्रमाणकोरुपमा उनलाई यस अघिको राष्ट्रपतीय चुनाबमाभन्दा ३.४० लाख बढी मत मिलेको उल्लेख गरिदैछ । डेमोक्रेटिक पार्टीको परम्परागत अश्वेत र ल्याटिन मतदाताहरुका बीचमा पनि उनको समर्थन बढेको देखिएको छ । अनि अमेरिकी ग्रामीण र साना शहरी क्षेत्रका श्वेत मतदाताहरु र महिलाहरुले उनीमाथि अहिले पनि निकै भरोसा राखेको चुनाव परिणामले देखाएको छ । यी सबै कुराले नश्लबादी र बिदेशी बिरोधी रहेको मानिएका डोनाल्ड ट्रम्पले अमेरिकाको घरेलुन राजनीतिमा निकै गहिरो छाप छोडेको भने देखिएको छ ।

यी सबै कारणले गर्दा अब जो बाइडेनलाई के निकै मुश्किल हुने देखिदैछ भने उनले ट्रम्पको राजनीतिक बिरासतको परम्परालाई पूरै र ठाडै नकार्न सक्ने छैनन् । के स्पष्ट छ भने बिकल्पमा अरु कुनै राष्ट्रिय पार्टी नरहेको स्थितिमा अमेरिकामा अहिलेसम्म कि रिपब्लिकन कि डेमोक्रेट दुइ पार्टी नै एक अर्काको प्रतिस्पद्र्धी रहेका छन् र तिनको घरेलु नीतिमा केही फरक रहेजस्तो देखिए पनि परराष्ट्र सम्वन्धमा भने प्राय एकै खालको नीति रहने गरेको एकदमै स्पष्ट छ ।

हुन त बिश्वको पहिलो महाशक्ति राष्ट्र भएकोले बिश्वभरी नै अमेरिकी निर्बाचनको लेखाजोखा र समीक्षा हुनु अस्वभाबिक होइन । तर त्यहाँको जुन पार्टीले चुनाब जिते पनि बिश्वका राष्ट्र समुदायलाई अमेरिकी नीतिमा खाशै भिन्नता महसुश हुने गरेको छैन र अहिले पनि स्थिति त्योभन्दा भिन्न फरक हुने स्थिति छैन । तथापि आउदो चार बर्षका लागि अब अमेरिकी सत्ता–प्रतिष्ठानको नीति के कस्तो हुने हो भन्ने प्रश्न उठ्छ नै । अब यसैमा सबैको नजर केन्द्रित भएर जान्छ र जानथालेको छ । त्यसैले बाइडेनले अब आफ्नो ध्यान नराम्रोसँग बिभाजित अमेरिकी समाजलाई कसरी एकजुट राख्ने हुन्, कोरोना महामारी पछिको नराम्ररी खस्केको अमेरिकी अर्थब्यवस्थालाई के कसरी सम्हाल्ने हुन् र कुन कुन क्षेत्रमा के कस्तो प्राथमिका दिने हुन् अनि बिश्व राजनीतिमा अमेरिकालाई सर्बप्रमुख देश बनाएर राख्ने के कस्ता नीति ल्याउने र प्राथमिकता दिने हुने यी अहिले मूख्य जिज्ञाषाका बिषय बनेका छन् ।

डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय राजनीतमिा ‘एक्लै हिड्ने’ रणनीति अपनाउँदै आएका थिए । त्यसले गर्दा यूरोप र एशियामा अमेरिकी गठबन्धनको स्थिति कमजोर हुदै गएको बिश्लेषकहरुले औंल्याएका थिए । यद्यपि पछिल्लो समय हिन्द–प्रशान्त रणनीतिालाई अझ सक्रिय गराउने चाल ट्रम्पले पनि चलेको देखिएको हो । यो तत्कालीन चुनाबी रणनीतिको उदेश्यले मात्र चालिएको कदम थिएन भन्ने धेरैको आकलन छ । अब बाइडेनले ट्रम्पको कार्यकालमा प्राय निष्कृय जस्तै पारिएका यी अन्तर्राष्ट्रिय गठबन्धनहरुलाई सक्रिय बनाएर जान सक्ने छन् ।

ट्रम्पलाई काला जाति बिरोधी नश्लीय दम्भ र अमेरिका पहिलो भन्ने राजनीति चलाउने दक्षिणपन्थी नीति धारक मानिए पनि उनको यो कार्यकालमा उनले कुनै नयाँ युद्ध भने बिश्वमा छेड्न सकेनन् । इरानका बिरुद्ध पनि उनको सैन्य जबाफ निकै सीमित र नियन्त्रित रहेको उल्लेख गरिन्छ । उत्तर कोरियाका नेतासँगको उनको बार्ता र मेलमिलापको कोशिशलाई पनि सकारात्मकरुपमा लिएको पाइन्छ ।

अब जो बाइडेनको कार्यकाल कस्तो रहने हो हेर्न बाकी छ । यद्यपि अमेरिकी डेमोक्रेटिक पार्टीको शासन प्रशासनको इतिहास पनि बिश्वमा सैन्य हस्तक्षेपकै रहँदै आएको छ । ट्रम्पभन्दा पहिलाका उदारबादी मानिएका राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो कार्यकालमा पश्चिम एशियाका बिभिन्न देशहरुमा सैन्य हस्तक्षे गर्न बाँकी राखेका थिएनन् । त्यसको दूरगामी दुष्प्रभाव आज पनि मध्यपूर्बका देशहरुले भोग्न अभिशप्त छन् । भनिन्छ बाइडनको संगत सैनिक हस्तक्षेपको समर्थन गर्ने लब्बीसँग रहेको छ । आमरुपमा यस्तो हस्तक्षेप मानबाधिकारको नाममा हुने गरेको औंल्याइन्छ ।

यतिबेला अब चीन र अमेरिकाको सम्वन्ध के कसरी अगाडि बढ्ने हो यो प्रश्न बिश्व राजनीतिक तथा रणनीतिक हिसाबले अहं महत्वको छ । अब ‘अमेरिका फस्र्ट’ कै ट्रम्प नीतिमा चलेर चीनसँगको ब्यापार युद्धलाई बाइडेनले पनि बढावा दिने र चर्काउने हुन् कि त्यसमा केही मत्थर स्थिति सिर्जना गर्नेतिर जाने हुन् यस प्रश्नले ठूलो महत्व राख्दछ । चीनलाई बिश्वको नम्बर एक बन्न रोक्ने अमेरिकी नीतिकै बाटोमा हिड्ने कि साझा भबिष्यको लागि बिश्वका राष्ट्र समुदायसँग मिलेर हिड्ने यसैमा बाइडेन कार्यशैली,क्षमता, बुद्धिमत्ता र निपूणता प्रदर्शित हुन्छ भन्ने एकथरी बिश्लेषकहरुको निष्कर्श रहेको छ । यद्यपि चीनलाई लिएर डेमोक्रेटिक र रिपब्लिकनमा कुनै अन्तर छैन । सारतः मतैक्यता नै रहेको अहिलेसम्मको स्थितिले दर्शाउदै आएको छ ।त्यसैले चीनलाई एशिया र बिश्वमा बिश्वकै प्रमुख शक्तिशाली राष्ट्र बन्न नदिने र रोक्ने प्रमुख रणनीति र नीति अमेकिराको रहेको जो कसैले पनि बुझ्न सक्तछ ।

यस स्थितिमा अब जो बाइडेनले अमेरिकाको इण्डो–प्याशिफिक नीतिबाट आफुलाई अलग गर्लान् या त्यसप्रति उदासीन रहलान् भन्ने बिश्वास शायदै कसैले लिएको होला । उनले एशियामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र भारतसँग ट्रम्पले बनाएको सम्वन्धलाई कायम राख्ने र यसलाई अझ सबल बनाउनेतिर नै जाने देखिन्छ । हेरौ, अब अमेरिकाको घरेलु र बाह्य नीतिले कुन मोड लिन्छ ।


२४ कार्तिक २०७७, सोमबार ०९:५६ मा प्रकाशित

 

Loading…