तराई मधेशको मात्र नभइ देशभरको साझा पर्व बन्दै छठ

sajha
प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार १९:०७

नारद कोहार
कपिलबस्तु, मंसिर ५
कपिलबस्तु लगायत देशैभर आज छठपर्व धुमधाम सँग मनाईंदै छ । पहिले पहिले तराई मधेशमा मधेशी समुदायले मात्र मनाउने छठ पर्व प्रति पछिल्ला वर्षहरुमा अन्य समुदायको पनि आकर्षण बढेको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्त्ाँउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो ।
आज हामी सवै मिलि हर्ष उल्लासका साथ पर्व मनाइरहेका छौ तर अहिले कोरोनाका कारण मानिसहरुमा भय त्रासमा पनि भिडभाड नगरी यो पर्व मनाएको अनिता सेनले बताइन् । यो पर्व हामी मधेसी, पहाडी समुदायका र तराईमा बस्ने सबै जातजातिले एक जुट भएर यो पर्व मनाएको उनले बताईन् ।
यो बर्षको छठीमाईको पुजा यहाका स्थानिय बसिन्दा पहाडी, मधेशी तथा तराईका विभिन्न जातजाती मिलेर सौहर्दपुर्ण रुपमा पुजा गरी मनाइदै छ । अधिकंस महिला दिदि बहीनीहरुले पानीमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मात्र यो पर्व सम्पन्न हुने सामाजसेवी सुरेन्द्रराज लम्सालले बताए ।


अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजा गरिएको छ ।
छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउँदछन् भने पछिल्लो दिन उदाउँदो सूर्यलाई पुजा गरेर मनाउने गरिन्छ । परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो ।

यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास पाइन्छ । सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान पाउन सकिन्छ ।
छठ पर्वमा सूर्यको पूजा गरिन्छ । सूर्यले पृथ्वीमा रहेका सम्पूर्ण जीव र वनस्पतिहरुलाई ताप दिने गर्दछ। यसको ताप वा किरणले विभिन्न रोगका कीटाणुहरुलाई नष्ट गर्ने गर्दछ। हिन्दु धर्ममा पनि सूर्यलाई ब्रह्मा, विष्णु र महेश्वरको शक्तिको रुपमा उल्लेख गरिएको छ। यद्यपि संसारका विभिन्न समुदायहरुले सूर्यको पूजा आ–आफ्नै तरिकाबाट पनि गरेको पाइन्छ ।


५ मंसिर २०७७, शुक्रबार १९:०७ मा प्रकाशित

 

Loading…