राजनितीक अस्थिरता र वर्तमान समस्या

sajha
प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार ०८:३०

-मनिषा कार्की
 
नेपालको विद्यमान राजनीतिक व्यवस्था आउँदो दिनमा अनर्थ र अनिश्चिततातर्फ उन्मुख भएको छ । सत्ता र शक्ति प्राप्तिका लागि एक आपसमा प्रतिस्पर्धा र खिचातानी चलिरहेको छ । दिनहु पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यमहरुको पहिलो पृष्ठको खबर हुन्छ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद र शिर्ष नेताबीचको गुटगत भेला र गुपचुप भेटवार्ता । दुईतिहाईको बलियो सरकार आफ्नै आन्तरिक पार्टिको झमेलामा परिरहेकै बेला नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपा केन्द्रिय सांसद तथा पुर्व राजदुत कमानसिंह लामाको लेनदेन विवादको नयाँ काण्ड बाहिर आयो । यसको वास्तविकता विस्तृत रुपमा प्रष्ट हुन बाँकी भए पनि आफ्नै पार्टीको नेता लगायतका विपक्षी दलका नेताहरूले विभिन्न टीका टिप्पणी गरिरहेको छन् भने श्रेष्ठको चरीत्र, राजनीतिक तौरतरिका र नैतिकतामाथि नै गम्भीर प्रश्न उठेको छ । सत्ताको अनि पदको शक्ति र दम्भ प्रदर्शन गर्नु राजनितीको पुरानै चलन हो । 
 
 
कोरोना महामारीमा देशको अर्थव्यवस्था, मुलुकको गणतन्त्र नीति, जनताको आकाङ्क्षा, भावी योजना र कार्यन्वयन, कुटनैतिक उपलब्धि र स्रोत साधनको उचित उपयोगतर्फ अनुसरण गर्नुपर्ने परिप्रेक्ष्यमा सरकार आफ्नै विवाद सुल्टाउन र विवाद उत्कर्षमा पुर्याउन व्यस्त छ । मुलुकको समस्याप्रति ध्यान केन्द्रीत गर्न जनताबाट विभिन्न आन्दोलन भयो तर सरकार मौन छ । राजा आउ देश बचाउ भन्दै जनताले देशका विभिन्न स्थानमा बृहत प्रदर्शन गरे तर सतासिनहरुलाई के वास्ता “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ” भने झै छ । कोरोनाको भयावह रुप सामुन्ने छ तर त्यसको सामाना गर्ने न हिम्मत नै छ न स्रोत साधन नै छ । ठुलादेखि साना परियोजनासम्म्ममा भ्रष्टाचार गर्न जोशिला नेता कर्माचारीलाई भ्याइनभ्याई छ । जग गतिलो भए पो घर बलियो हुन्छ भने झै कार्यन्वयनको प्रक्रिया नै दह्रो नभएपछी नितिनियमको के औचित्य हुँदोरहेछ र!
 
 
विकासोन्मुख देशमा विकासका लागि यसै त समस्याको चुनौती छ झन त्यसमाथि कोरोना महामारीले सबै क्षेत्रमा चुनौती थपिदिएको छ । शिक्षा क्षेत्र अझै अन्योलमा छ, कृषिप्रधान देश कृषिको बिजोग छ, स्वास्थ्य क्षेत्रमा जोखिम बढ्दो छ, अर्थतन्त्रमा चलायमान छैन, पर्यटन क्षेत्र अस्तव्यस्त छ नेतालाई भने पिङ चर्पी देखि लिएर पुल उद्घाटनमा जसरी नि उपस्थित हुनु छ । पार्टी एकता नाजुक बन्दै छ, समस्या आफू थुपार्ने अनि समस्याको समाधानका   उपायचाहिँ छिमेकीबाट लिन खोज्ने । मानव अधिकारको जति नै वकालत गरे पनि न्यायमा बेहाल छ । मानव अधिकारको पुर्वसन्ध्यामा मोरङमा एक शिक्षकको हत्या भयो त्यसले अपराधिक हिंसाको अनुभव पहिले नै गरिसकेको नेपालीलाई फेरि नयाँ झस्का दिएको छ । 
 
 
मुलुकभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटा मिलले किसानलाई भुक्तानी नदिएर किसान चिन्तित बनेका छन् । बक्यौता भुक्तानीका लागि आपूर्ति मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाए तर के गर्नु नेताको भाषण मात्रै ठुला, उखु किसानले चिनि उद्योगबाट लिनुपर्ने ९० करोड अझै पाएका छैनन् । एक हजार किसान आन्दोलनको घोषणा गर्दै उपत्यका आउने तयारीमा छन् । नेपाली प्रहरी, सेना र सशस्त्र गरि झन्डै  १४ हजार सुरक्षाकर्मी कोरोना संक्रमित छन् । सरकारले दिने भनेको सुरक्षा भत्ताको त कुरै छाडौं एक जनाले पनि कोरोना बिमाको भुक्तानी पाएनन् । राज्यको कानुन यति फितलो भैसक्यो कि प्रहरीकै परिक्षामा नक्कली परिक्षार्थी परिक्षा दिन पुग्छन । उद्योगी र व्यवसायीलाई आफ्नो प्रभुत्व जोगाउनै मुस्किल छ । कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्यो भाडादरले आकाश छोएपछि दोब्बर लागतमा ल्याउनुपर्छ । यसबेला युवा भने सत्तामा पुग्ने भर्‍याङ बनेका छन् । 
 
 
दिनानुदिन कोरोना संक्रमीत थपिरहेका छन् । कोरोना कहरबिच उपत्यका लगायतका केही ठाउँमा विद्यालय सञ्चालन भए पनि जोखिम बढ्न सक्ने भन्दै सरकारले फेरि बन्द गर्न आह्वान गर्यो तर प्रभावकारी व्यवस्था प्रणाली भने उपलब्ध गराउन सकेन । राजनितीक अस्थिरता, कमजोर कानुन प्रशासन र नातावादको आडमा सामाजमा हरेक दिन नयाँ अपराधिक हिंसाका घटना घटिरहेको छ । बलात्कार, हत्या, घरेलु हिंसा, जातिय विभेद, चोरी डकैती, घुसखोरी र चरम लापरबाही निर्धक्कले गर्छन । राजाले त न्याय नपाएको देशमा जनाताले न्यान पाउनु पनि अनौठो लाग्ने अवस्था नआउँला भन्न सकिन्न ।
 
 
अबको देश विकासमा युवालाई प्राथमिकता दिनु आवश्यक छ । जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै असल राजनितिक नेतृत्व गर्नु, कोरोना महामारीले थलिएको क्षेत्रलाई दुरदर्शिता योजनाबाट चलायमान बनाउनु, भ्रष्टाचार नियन्त्रणमा सक्रिय हुनु र दक्ष जनशक्ति उत्पादन र देशमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नु आजको आवश्यकता हो । बेरोजगारीलाई विभिन्न सिपमुलक तालिम र रोजगारको अवस्था सिर्जना गरि अघि बढ्नुपर्छ । -साप्ताहिक साझा न्यूजबाट

२८ मंसिर २०७७, आईतवार ०८:३० मा प्रकाशित

 

Loading…