राजनितीक ओझेलमा वर्तमान समस्या र देश विकास

sajha
प्रकाशित मिति: १९ पुष २०७७, आईतवार ०८:१२

-मनिषा कार्की
नेपालमा कोरोनाको गम्भीर प्रभाव परेको बेला भ्याक्सिन उपलब्धता र आर्थिक, सामाजिक, शैक्षिक विकासका पक्षभन्दा बढी नेकपा फुट प्रधान चासोको विषय बनेको छ भने यसको प्रत्यक्ष प्रभाव संघ र स्थानीय तहमा परेको छ । संसद विघटन र नेकपा विभाजनले नेपाली राजनीतिमा एउटा छुट्टै झटका दिएको छ । नेकपा औपचारिक रुपमा दुई समुहमा विभाजन भएपछि एक समुहले अर्को समुहलाई सक्दो निषेध र कारबाही गर्ने प्रवृत्ति शुरु भएपछि प्रदेश सभा सचिवालयसमेत कुन समुहको निर्णय कार्यन्वनयन गर्ने अन्योलमा परेको छ । संसद विघटन संविधानमा नभएको अधिकार प्रयोग गरेको भन्दै सर्वोच्चमा दर्जनौं रिट दायर भएका छन तर सुनुवाइ भने दिनहुँजसो हेर्न नभ्याइनेमा पर्छ ।  हुन त कोभिड-१९ का कारण चलचित्र क्षेत्र लामो समय ठप्प बनेर पनि होला नेपाली राजनिती र नेताहरुले यति धेरै चर्चा पाएको । 
दुई तिहाईको बलियो सरकार आफ्नै पार्टीभित्रको किचलोमा रुमलिरहँदा विभिन्न टीका टिप्पणी नभएको  होइन । दैनिक विभिन्न गुटको बैठक भेला गरे, हजारौं सम्झौता गरे तर अन्तिम विकल्प पार्टी फुट नै बन्यो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते आइतबार गरेकी प्रतिनिधि सभा विघटनलाई अहिले राजनीतिक संकटको संज्ञा दिनुका साथै अलोकतान्त्रिक, असंवैधानिक र अधिनायकवादी कदम भनेर विभिन्न राजनीतिक नेता कार्यकर्ता र जनता सडकमा उत्रिएका छन भने राजतन्त्र र राजावादी नारा गुञ्जिरहेको छ । यहि हो मौका भन्दै विभिन्न राजनितीक नेताहरु पद र सत्ता पाउने लोभमा सक्दो शक्ति प्रदर्शन गरिरहेका छन् । 
 
चिनकै समर्थनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकीकरणपछि नेकपा बनेकोले मुलुकमा नेकपाले राजनीतिमा नयाँ मोड लिनसाथ छिमेकी राष्ट्रको सक्रियता निकै बढ्ने गर्छ ।योपटक पनि छिमेकी राष्ट्र चीनले सत्तारुढ दल नेकपाको विवाद मिलाई एकीकरणमा परिणत गर्न भुमिका खेलेको छ । चिनबाट मन्त्री गुऔ एचौको नेतृत्वमा नेपाल आएको टोलीले नेकपा शिर्ष नेताका घरघरमा पुगेर भेटवार्ता गरे । भेटको वास्तविक प्रस्ताव तथा कुराकानी नखुलाइए पनि यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मानौँ नेपाली राजनीतिको साँचो छिमेकी राष्ट्रको हातमा छ । 
देशका सत्तासिन र भ्रष्ट नेताहरुका कारण विकसित देशहरुसँग नेपालको तुलना गर्नै नमिल्ने भैसक्यो । सानैदेखी एउटा बच्चालाई नेपाल कृषिप्रधान देश हो भनेर पढाइन्छ तर नेपालमा किसानलाई दिइएको प्राथमिकता र सेवा सुविधा नियाल्ने हो भने उदेक लाग्दो छ । उदाहरण लिउ उखु किसान, नगदे बाली उखु उधारो बालीमा परिवर्तन हुन थालेपछि किसानको कथा कहालीलाग्दो छ । किसानले आफ्नो पसिनाको मुल्य पाउन आँसु बगाउँदै सडकमा उत्रनुपर्छ । भोको पेट, बिरामी शरीर र चिसो सडकमा वर्षैदेखी भुक्तानीको माग गर्दै चिसो सडकमा बसेका उखु किसानको मर्म सरकारले कहिले बुझ्ने कोशिस गरेन किनकि नेताको पार्टी विवाद सधैं उत्कर्षमा पुगेको हुन्छ । 
उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आएका किसान नारायण यादवले आन्दोलनमै ज्यान गुमाए सरोकारवाला अझै मौन छ । शिक्षा क्षेत्रको कुरा गरौं कक्षा ११ को पाठ्यक्रम अझै विवादमा छ । कक्षा १२ को नतिजा प्रकाशनको मिति सकिसक्यो नतिजा छैन । राष्ट्रिय परिक्षा बोर्ड भन्छ विद्यालयले दिने नम्बरमा अनियमितता भयो, परिक्षामा नै अनियमितता भएपछि नतिजा प्रकाशनमा अनियमितता त हुने नै भयो । समाजमा विकृती (हत्या, घरेलु हिंसा, बलात्कार, जातिय विभेद, झगडा, चोरी) ताण्डब गरिरहेको छ । मुलुकमा सुशासनको कुरा गरौँ सरकारले यस्ता धेरै विषयमा रेकर्ड तोडिसकेको छ । वाइडबडी, स्वास्थ्य सामग्री खरिद, बालुवाटार काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड काण्ड, ओम्नी र यतीलगायतका काण्डले जनतालाई निराश बनाएको छ । 
बढ्दो राजनीतिक घटनाक्रमले देश विकासका गतिविधि ठप्प बनेको छ भने बन्दै गरेको विकासका कामले पनि विश्वव्यापी व्याधी कोभिड-१९ का कारण गति लिन सकेको छैन । कोरोना पछिको पर्यटकिय क्षेत्र चलायमान बनाउन विभिन्न आयोजना गरे पनि कार्यन्वयनमा ल्याउन सकेको छैन । 
सरकारको निराशाजनक काम र प्रगतिका कारण जनता सधैं अन्योलमा परेका छन् । कोरोनाको प्रभाव रोकथाम तथा व्यवस्थापनमा जुट्नुपर्ने बेला सरकारले आवश्यक गृहकार्य नै गरेको छैन । 
आजको आवश्यकता ध्यानमा देशको आर्थिक पक्षलाई सबल बनाउनुपर्ने, युवालाई रोजगारी र आवश्यक तालिमको व्यवस्था सरकारले गर्नुपर्छ । कृषिको उचित बजारीकरण र मुल्यको प्रत्याभूति दिलाई बिचौलियालाई जरैबाट निर्मुल गर्नुपर्छ । लाखौं विद्यार्थीको भबिस्यसँग जोडिएको शैक्षिक शिक्षाको विवाद चाडो भन्दा चाडो टुङ्गाउन सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मिलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्छ, युवा वर्गलाई प्राथमिकता दिई उपलब्ध स्रोत साधन र दक्ष जनशक्तिको प्रयोग गरि अबको बाटो पहिल्याउनुपर्छ । नातावाद, भ्रस्टाचार, लोभ, मोहबाट टाढा रहि देश विकासमा जुट्नु आजको नागरिक युगको आवश्यकता हो । -साझा न्यूज साप्ताहिकबाट

१९ पुष २०७७, आईतवार ०८:१२ मा प्रकाशित

 

Loading…