लोकतन्त्रको विकल्प लोकतन्त्र भित्रैबाट खोज्नु पर्छ !

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमबाट नेपाली राजनितिमा पछिल्ला दिनहरुमा ठुलो तरंग पैदा भएको छ । प्रधानमन्त्रीको यो कदमलाई नेपाली राजनितिका विश्लेषकहरुले फरक फरक धारबाट सहि र गलत कदम भनी आआफ्नै व्याख्या गरिरहेका छन् ।
मुलुकको यस्तो विषम एवं संक्रमणकालीन अवस्थाको फाईदा उठाउँदै मुलुकका दुई छिमेकीहरु पनि नेपाली राजनितिमा आफ्नो चासो र उपस्थिति बढाउन थालेका छन् । अर्को तर्फ मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई नै परिवर्तन गर्नुपर्छ भन्ने प्रतिगमनकारीहरु सलवलाउन थालेका छन् ।
धमिलो पानीमा माछा मार्नेहरु संसारभरकै उत्कृष्ट शासन पद्धति लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोज्नुपर्छ भन्दै आवाज उठाउन थालेका छन् । तर होसियार हुनु पर्ने बेला आएको छ । कुनै एउटा शासकले गरेको गलत निर्णयका कारण संसारकै सुन्दर मानिएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था माथि प्रश्न चिन्ह उठ्नु हुदैन। यसका विकल्प खोजिनु हुदैन ।
लोकतन्त्रमा लोकतन्त्रकै विकल्प होईन दल तथा नेताको विकल्प खोजिनुपर्छ । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । पछिल्ला दिनहरुमा सडकमा उठ्न थालेका लोकतन्त्र विरुद्धका आवाजहरुलाई मुलुकका सवै राजनैतिक दलहरु मिलेर दबाउनु पर्छ । कुनै पनि शक्तिका आडमा लोकतन्त्र विरुद्धका गतिविधीहरु संचालन हुनु हुदैन ।
राणाकालीन शासन व्यवस्था , पंचायती शासन व्यवस्था र प्रत्यक्ष शाही शासन व्यवस्थाका विरुद्ध नेपाली जनताहरु एक भई लडेर ल्याएको प्रजातन्त्रमाथि खतरा उत्पन्न हुने अवस्था आए नेपाली जनता चुप लागेर बस्दैनन् । लोकतन्त्रको रक्षाका लागि सदैव आहुती दिन तयार छन् नेपाली जनता लोकतन्त्रमाथि कही कतैबाट कुदृष्टिको चेष्टा नगरियोस् ।
२१ पुष २०७७, मंगलवार ११:२४ मा प्रकाशित