संसद विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्चले खारेज गर्नुपर्छः प्रधानमन्त्री

sajha
प्रकाशित मिति: २६ पुष २०७७, आईतवार १५:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटन भइसकेपछि मनगढन्ते कुरा गरेर नहुने भन्दै उनले अब कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताए । अब बाँकी रहेको ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन निकै गाह्रो भएको भन्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले खारेर गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेको भन्दै उनले त्यसमा राष्ट्रपतिलाई विवादित बनाउन नमिल्ने बताए । अहिलेको सरकार संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भएको भन्दै उनले जति कराए पनि जति चिच्याएपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताए ।

प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न पाउँदैन भन्ने कुरा संविधानमा कहीँ पनि उल्लेख नभएको भन्दै उनले यो राजनीतिक विषय भएकाले सर्वोच्चले आफूले गरेको निर्णयविरुद्ध परेका सबै रिटलाई खारेज गर्नुपर्ने बताए ।


२६ पुष २०७७, आईतवार १५:५७ मा प्रकाशित

 

Loading…