दशैँमा पनि यात्रुहरुले गाडी चढेर यात्रा गर्न नपाउने खोलाको पिडा

sajha
प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार ०२:१२

तेह्रथुम, असोज १० –

तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडक खण्ड अन्तर्गत खोरुङ्गा र कोया खोलामायो वर्ष दशैँमा पनि यात्रुहरुले गाडी चढेर यात्रा गर्न नपाउने भएका छन् । 

पुल नहुँदा हरेक वर्ष वर्षाका महिनामा यो सडक खण्डमा सवारी अवरुद्ध हुने गरेको छ । तर यो वर्ष भने दशैँ तिहार जस्ता महत्वपुर्ण चाडवाडका लागि बेला समेत यहाँका फेदाप र आठराई गाउँपालिकाका बासिन्दाले गाडी चढेर यात्रा गर्न नपाउने भएका हुन् ।

दुवै खोलामा पानीको चाप घटेको छैन । वर्षाले बिग्रिएको सडक बनाउन समेत नपाइएकाले दशैँ अगाडि सडक खुलाउन नसकिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङलेब ताउनुभयो ।

वि.स. २०६८ साल तिरै यो सडक निर्माण भएपनि अहिलेसम्म पुल निर्माण भएको छैन । सडक अवरुद्ध हुँदा आठराई र फेदापका बासिन्दा सदरमुकामका सरकारी कार्यालयको सेवा सुविधा लिन दुई दिनसम्म पैदल हिडेर आउन बाध्य छन् ।

खोलामा पुल नहुँदा फेदाप गाउँपालिकाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु र ईसिवु तथा आठराई गाउँपालिकाका खाम्लालुङ, सक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु गाउँसँगको सडक सम्पर्क टुटेको छ ।

जिल्लाका अन्य एक दर्जन बढी अत्यावश्यक सडकहरु समेत वर्षापछि मर्मत र पुल नभएकै कारण सवारी सन्चालन हुन सकेको छैन ।


१० आश्विन २०७४, मंगलवार ०२:१२ मा प्रकाशित

 

Loading…