बढ्दो विषमताको खाडल: आजको विश्वको वास्तविकता

sajha
प्रकाशित मिति: ४ माघ २०७७, आईतवार १८:०५

आज बिश्व लगातार विषमताको बढ्दो खाडलतिर बढिरहेको छ । त्यसमा पनि आज बिश्वभरी फैलिएको कोरोना महामारीका कारण जुन आर्थिक गतिबिधिहरुमा अपूर्ब ह्रास  आइरहेको छ त्यसले भयंकर ठूलो बेरोजारी र बिषमताको अँध्यारो सुरुङ्गमा बिश्व समाजलाई धकेलिदिने अत्यन्तै बिषम परिस्थिति सिर्जना गरिदिएको छ । यो बिश्व समाजका जिम्मेवार जो कसैका लागि पनि ठूलो चिन्ताको बिषय हो र हुनै पर्ने हो । हिजोदेखि नै थोरै सम्पन्न मानिसहरु बिश्वमा अझ सम्पन्न भइरहेका या हुँदै आएका छन् भने धेरै बिपन्न मानिसहरु झन झन बिपन्न बन्दै गएका छन् । यो कटु यथार्थलाई दक्ष्‘िाण एशियाको परिप्रेक्षमा हेर्ने हो भने त बाँकी बिश्वभन्दा असमानता यो क्षेत्रमा अझ बढी र अझ खराब देखापर्ने र पर्दै आएको ज्ञाता बिश्लेषकहरुले औंल्याएका छन् ।

आजको यस चिन्तनीय स्थितिमा गरीबी उन्मूलनसँग सम्वन्धित रहेर काम गर्दै आएको संस्था ‘अक्सफाम’को केही बर्ष पहिलाको प्रतिबेदन ‘एन इकोनोमी फर द ९९ पर्सेण्ट’का अनुसार बिश्वको एक प्रतिशत सबैभन्दा सम्पन्न या धनाढ्य जनसंख्याको सम्पत्तिको तथ्यांक बाकी ९९ प्रतिशत जनसंख्यको सम्पत्तिभन्दा पनि बढी रहेको छ । यो श्रमको सामाजिकीकरण र पूँजी तथा मुनाफा केन्द्रिकरणको आजको बिश्वको एउटा जीवन्त तथ्य हो ।

अक्सफामको त्यस गणनामा रहेका आठ सुपर अमेरिकीहरुसँग बिश्वका आधा जन संख्यासँग जति सम्पत्ति छ त्यति नै सम्पत्ति छ भन्ने कुरा त्यसले औल्याएको थियो । आर्थिक बिषमताको यस्तो डरलाग्दो खाडल लगातार अझ चौडा र गहिरो हुदै गएको छ । कोरोना महामारीका कारणले त्यसको गति र स्थितिलाई अझ चर्काइदिएको छ । अक्सफामको त्यस अध्ययन अनुसन्धानकाको प्रतिबेदन अनुसार बिश्वका आधा गरीब जनसंख्याको कूल सम्पत्ति पहिलाको अनुमान गरेभन्दा पनि कम दर्ज गरिएको थियो । चीन, इण्डोनेशिया, लाओस, भारत, बंगलादेश र श्रीलंकामा १० प्रतिशत सम्पन्न धनाढ्यहरुको आयमा १५ प्रतिशतभन्दा बढीले बृद्धि भएको अक्सफामले उल्लेख गरेको थियो भने उता सबैभन्दा बिपन्न या गरीब १० प्रतिशत जनसंख्याको आयमा भने सम्पन्नहरुको त्यो बृद्धिको ठीक बिपरीत १५ प्रतिशतको दरले कमी आएको उल्लेख गरिएको थियो ।

बिश्वका सम्पत्तिशालीहरुको ‘बिश्व आर्थिक मञ्च’ अर्थात् ‘वल्र्ड इकानोमिक फोरम’को बार्षिक बैठकका बेला बिश्वका धनाढ्य देशका राष्ट्र या सरकार प्रमुखहरु र बिषय बिज्ञ अर्थशास्त्रीहरु दाभोसमा जान लागेको बेला अक्सफामले अध्ययन गरेको स्थितिको यस्तो बिश्व आर्थिक नतीजा प्रकाशमा ल्याएको थियो । स्पष्टै छ कि तिनले बिश्वको यो सबैभन्दा ठूलो चूनौतिको कुनै न कुनै रुपमा समाधान खोज्नु पर्ने हुन्थ्यो नै । किनभने यो बढ्दो असमानताको आँचले निश्चय नै सारा संसारलाई नै प्रभावित तुल्याउँदछ र त्यस्तो महसुश हुदै गरेको पनि देखिन्छ । त्यसलाई चिर्नु नै पर्ने हुन्थ्यो ।

साधारणतः बिश्व जनमत हेर्ने हो भने यस्तो स्थितिका कारणले ठूलो आक्रोश उत्पन्न हुँदै आएको र भइरहेको छ । त्यसको अभिब्यक्ति बिभिन्न ह्रिंसक प्रदर्शनकोरुपमा हुँदै आएको पनि छ । कतिपय ठूल्ठूला देशहरुमा सत्ता परिवर्तन र उग्र राजनीतिको बढ्दो लहरको पछाडि यही बढ्दो असमानता रहेको कुरामा कसैले आज असहमति जनाउन सक्तैन । यस प्रकारको बिश्व स्थितिमा प्रष्टै के भन्न सकिन्छ भने अक्सफाको त्यो प्रतिबेदन बिश्व अर्थब्यवस्थमा चालु रहेको भूमण्डलीकरण र उदारीकरणमाथिको एउटा गम्भीर र तथ्यगत टिप्पणी र प्रतिकृया थियो र हो ।

हुन पनि बिकासका तमाम दाबीहरु गरिदा गरिदै पनि के साबित भइरहेको र भइसकेको छ भने पूजीवादी बिकासको यो चालु अर्थात उदारीकरण र भूमण्डलीकरणको मोडल बिश्वमा सम्पत्तिको न्यायपूर्ण बितरणमा बिल्कुलै असफल साबित भइरहेको र भइसकेको छ । हिजो यस आर्थिक नीतिका वकालतकर्ता र समर्थकहरु ‘ट्रिकल डाउन थ्योरी’ अर्थात् ‘चुहिएर पुग्ने बिकास’ को कुरा अघि सार्दै के भन्ने गर्दथे भने माथिको समृद्धि रसाउँदै रसाउँदै गएर तल्लो बिपन्न बर्गसम्म पुग्नेछ र तिनीहरुमा खुशियाली छाउने छ । तर अहिलेसम्मको जीबन्त परिणामले यो कुरा ‘मृग मरीचिका’ या ‘बीरबलको खिचडी’ जस्तै केवल हावादारी कुरा साबित हुन पुगेको छ । त्यसैले बृद्धि दरको मापनलाई मात्र बिकास नाप्ने मूल आधार बनाउदा यथार्थ तस्वीर आउँदो रहेनछ भन्ने कुरा पनि एकदमै प्रष्ट भएको छ । वास्तवमा बित्तीय कर्पोरेट पूँजी आधारित आजको पूँजीवादी ब्यवस्थाको फाइदा केही अपबाद बाहेक केवल पहिलादेखि नै सम्पन्न रहेको बर्गको सानो तप्कालाई मात्र भएको र हुँदै आएको छ । अरु बहुसंख्यक मानिसहरु त त्यसको साक्षी र रमिते मात्र भएर रहेका र रहँदै आएको तथ्यले प्रष्ट पारेको छ ।

हुन पनि बिकासको यस मोडलमा स–साना मध्यम स्तरीय उद्योगधन्धाहरु समाप्त हुँदै जानु यस ब्यवस्थाको सबैभन्दा ठूलो कमजोरी देखिन्छ । यसका अतिरिक्त सरकार या राज्यको भूमिका घट्दै घटाउदै जानु पनि यसको अर्को सन्निहीत चरित्र हो । फलतः बिपन्न बर्गलाई सहयोग गरेर माथि उठाउने नीति बनाउने कुरा पनि अब हराउँदै गएको वा हराइसकेको छ या त्यो निर्जीब कागजमै सीमित भएर रहेको प्रतीत भइरहेको छ । यस्तो अबस्थामा एउटा बाटो यही हुन्छ कि सम्पन्नहरु माथि बढी कर लगाउने र बिपन्न बर्गको उत्थान र प्रगतिको हितमा त्यसको लगानी गरेर परियोजनाहरु सञ्चालन गर्ने र गरीबीको अन्त्य गर्ने । तर यस्तो नीति बनाउने राजनीतिक निर्णय गर्ने गराउनेहरु पनि सम्पन्न बर्गकै मानिसहरु हुने भएका हुनाले यो सम्भव छैन र भए पनि त्यो केवल नीति र घोषणमा नै सीमित रहने गरेको निरन्तर देखिदै आएको छ । त्यसले गर्दा स्थितिमा सुधार आउने कुनै गुञ्जायश देखिदैन ।

त्यसैले चालु महँगो बिकासको प्रपञ्चलाई नै काफी च्यापेर यस मुद्दालाई गम्भीर रुपमा लिइएन र मानिसलाई श्रम शोषण गर्ने बजारको बस्तु सरह मात्र ब्यवहार गरिने गरियो भने यसले भबिष्यमा बिश्वभरी नै धेरै ठूलो असन्तुष्टी, अराजकता र बिद्रोह निम्त्याउने कुरा भने प्रायः निश्चित नै छ । किनभने बिकास मानिसको गरीमा र मर्यादासँग जोडिएन र थोरैको निम्ति धेरैको बलिदानकै असान्दर्भिक प्रबृत्तिलाई बढावा दिइरहने अप्रिय, अबाञ्छित र अमानबीय कुराले प्रश्रय पाइरह्यो भने त्यसले निश्चय नै अर्थ–सामाजिक दुष्परिणाम ल्याउने कुरा अबश्यंभावी छ । त्यसैले सुनिश्चित, समुन्नत र समानतामा आधारित सुन्दर मानबीय भबिष्यको खोजी गर्ने क्रममा निसन्देह बैज्ञानिक समाजबादी समाजको निर्माण गरिनु पर्ने दिशामा बिश्व अभिमुख हुनु परेका आजको बिश्वको यथार्थ हो ।


४ माघ २०७७, आईतवार १८:०५ मा प्रकाशित

 

Loading…