शोषणकारी शासन विरुद्ध महिला मुक्तिको संघर्ष !

sajha
प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १०:५०

लोकनारायण सुवेदी 

अनेक अध्ययन, अनुसन्धान र ब्यबहारहरुले महिलामा पुरुषका अपेक्षा बढी धैर्यता, बढी सहिष्णुता, बढी भावनात्मकता र बढी सेवाको भाव हुन्छ भन्ने पनि पुष्टी गरेको छ । यी सबै सदगुणले गर्दा पुरुषभन्दा महिला श्रेष्ठ हुन्छन् भन्ने दर्शाएको छ । तर महिलाहरुको त्यही विशेषताले नै उनीहरुलाई कमजोर पनि बानाएको छ । इतिहासको नियम छ कि असभ्य या बर्बर जातिहरुले सभ्य जातिहरुमाथि बिजय प्राप्त गरे । अनि त्यही आक्रामकताले नै महिला–पुरुष सम्बन्धलाई बिकृत गरेको छ र गरेको हो । यसबाट बच्नका लागि र सम्बन्धमा समानता कायम गर्नका लागि संघर्ष त महिलाहरुले नै गर्नुपर्ने हुन्छ । अनि पुरुषले पनि महिलाहरुको यो संघर्षमा सार्थक सहयोगी बन्ने काम गर्न सक्तछन् र गर्नुपर्छ ।

 हुन त बिबाहका कुनै पनि प्रचलित कानुनमा के बताइने गरेको छैन भने पति र पत्नीका अधिकार के के हुने छन् । यद्यपि मुस्लिम विवाहमा साच्चै नै एउटा वैवाहिक कागज  – निकाहनामा – तयार पार्ने गरिन्छ । त्यसमा बर बधु र बिबाह गराउने धर्माधिकारीको हस्ताक्षर हुन्छ तर त्यसमा पनि के लेखिएको हुदैन भने दैनन्दिन जीवन र कार्य ब्यवहार कस्तो किसिमले सम्पन्न हुने हो, अनि दुबै – पति–पत्नीका बीचमा   समानता रहन्छ या पुरुषको काम अधिकार जमाउनु र महिलाको काम आज्ञा पालन गर्ने हुने हुन्छ । यसको यही अर्थ भयो कि दाम्पत्य सम्वन्धलाई कानुनको दायराभन्दा बाहिर राखिने गरिन्छ । वास्तबमा यो एउटा शर्तमुक्त सम्वन्ध हुन्छ, जसले गर्दा पति पत्नीले आपसमा जे जस्तो समीकरण बनाउन चाहन्छन् निर्बाध भएर बनाउन सकुन् । तर अर्को एउटा कानुन पनि हुन्छ जुन प्रायः सरकारी कानुनमाथि गरुङ्गो र बोझिलो हुने गर्दछ । त्यो कानुन भनेको समाजको, परम्पराको, मान्यताहरुको अनि बाहुबल र पैसाको कानुन हो ।अनि कुनै पनि देशमा पति–पत्नी सम्वन्ध यी नै तत्वहरुद्वारा निर्धारित हुने गर्दछन् । त्यसैले एउटा समाजमा यी सम्वन्धहरुका अनेक रुप हुन सक्तछन् । पति उदार भए त पत्नीका अधिकारहरुमाथि  दमन नहोला तर पुरुष सामन्ती बृत्तिको छ भने पत्नीले उसको अदब या अनुशासनमा बस्नुपर्ने हुन्छ । यसरी नै पत्नीहरु पनि एकै किसमका हुँदैनन्। कतिले आफ्ना पतिलाई आफ्नो मालिक या स्वामी र परमेश्वर नै सम्झन्छन् भने कतिपयले पतिसँगै काँधमा काँध मिलाएर हिड्ने सोच पनि राख्दछन् । अनि कतिपय समाजमा आज त प्रत्यक्ष या परोक्ष सर्बत्र नै भने पनि हुन्छ पति–पत्नी बीचको सम्वन्धको  स्वरुप निर्धारण गर्न दाइजोको भूमिका पनि कम महत्वपूर्ण हुदैन । जसले प्रसस्त दाइजो लिएर आउछिन् उसको मान सम्मान हुन्छ भने कम दाइजो ल्याउनेको अपमान हुने मात्र होइन हिंसाचार र हत्या समेत हुने गर्दछ । यस प्रकार स्यिति जस्तो भए पनि  बैबाहिक जीवनमा पुरुषको पल्ला भारी नै हुने गर्दछ चाहे पत्नी कमाउने या पतिलेभन्दा धेरै कमाउने नै  किन नहुन् ! 

प्रष्ट छ कि यसरी पत्नीले मनोबैज्ञानिकरुपले नै पतिको अधिनता स्वीकार गरेका हुन्छन् । अधिनता जस्तो नलागे पनि पत्नीलाई के लाग्दछ भने पुरुषलाई अप्रसन्न तुल्याउनु दाम्पत्य जीवनको शान्तिका लागि खतरा आमन्त्रित गर्नु नै हो । यस प्रकार भन्न सकिन्छ कि हुन त महिलामा पुरुषको अपेक्षा बढी धैर्य, बढी सहिष्णु, बढी भाबनाशीलता र बढी सेवा भाव हुन्छ, त्यसैले उनी पुरुषभन्दा श्रेष्ठतर हुन् । तर तिनको यही कुरा कमजोरी ठहरिन्छ । 

विश्वका एकजना प्रसिद्ध स्वतन्त्रबादी दार्शनिक जाँन स्टुआर्ट मिलले यही उपहार आफ्नी पत्नी  हेरिएटर टेलरलाई दिएका थिए  । दुबैको प्रेमको एउटा अद्भूत कथा पनि छ । दुबैका बीच जब प्रेम पन्पियो त्यस बेला हेरिएटर टेलर बिबाहित थिइन् । जबसम्म पतिको मृत्यु भएको थिएन त्यस बेलासम्म ती दुबैले बिबाह गरेनन् । वास्तवमा बिबाहका लागि उनीहरुले २१ बर्षसम्म कुर्नुप¥यो । त्यो समयमा बैबाहिक कानुन पूर्णतः स्त्री बिरोधी थियो । पत्नीलाई पतिकै अंग मानिने गरिन्थ्यो । पत्नीलाई कुनै अधिकार थिएनन् र सम्पूर्ण अधिकार पुरुषकै हातमा थिए । यति सम्म कि आफ्नो सम्पत्ति र स्त्री धनमा पनि स्त्रीको अधिकार थिएन । जान स्टुआर्ट मिल स्वतन्त्राको पक्षधर थिए । त्यसैले उनले महिलाहरुको दीनहीन स्थिति दर्शाउदै र त्यसबाट मुक्त हुनु पर्दछ भन्ने बारेमा एउटा किताब पनि लेखे । हेरिएटर पनि बौद्धिक स्तरमा जान स्टुआर्ट मिल भन्दा पछि थिइनन् । त्यसैले मिलले आफ्नो लेखनमा हेरिएटरको योगदानको कृतज्ञतापूर्वक उल्लेख पनि गरे । कतिपय स्थानामा के पनि मानिन्छ भने लेखेको त मिलले हो तर बिचार भने हेरिएटरको थियो । प्रेमले दुबै एक अर्काको समान थिए । तर बिबाहपछि दुबैको कानुनी हैसियतमा धेरै ठूलो भिन्नता आयो । मिल स्वामी अर्थात मालिक बन्न गए तर हेरिएटर  स्वामिनी बन्न पाइनन् । यस स्थितिबाट बच्नका लागि मिलले एउटा कानुनी दस्ताबेज नै बनाए जुन ती दुबै जोडीको आदर्शसँग मेल खान्थ्यो । त्यस दस्ताबेजमा मिलले लेखेका छन् – म प्रसन्न छु कि हेरिएट टेलरले मसँग बिबाह गर्ने प्रस्ताब स्वीकार गरिन् । उनी एक मात्र स्त्री हुन् जसलाई म चिन्छु । तर बिबाह पछि हाम्रो सम्बन्धको चरित्र बदलिन्छ । एक पक्षले अर्को पक्षको शरीर, सम्पत्ति र अधिकारहरको नियन्त्रण गर्नेछ । तर यस्तो कुनै कानुन छैन जस अन्तरगत मैले पतिका रुपमा आफ्ना बिशेषाधिकारहरु छोड्न सकुँ, यस्तो कुनै कानुन हुन्थ्यो भने मैले अबश्य पनि तिनको उपयोग गर्ने थिए । यस कारण म घोषणा गर्दछु कि हाम्रो बिबाह भइसकेपछि हेरिएटरका सबै अधिकार उनीसँगै रहने छन् जो अहिले (बिबाह नगर्दाका बखत) छन् । यो हाम्रो बिबाहको एउटा अनिबार्य शर्त हुनेछ । हामी बुझ्न सक्दछौं कि मिलको यो घोषणापत्र संसारका महान प्रेम पत्रहरुमा अनन्यतम् प्रेमपत्र हो । यस प्रेमपत्रबाट मिल आफ्नो समाज र आफ्नो समयको अतिक्रमण गर्दछन् र भबिष्यको कुनै त्यस्तो समाजमा पुग्दछन् जहाँ महिला र पुरुषको अधिकारमा कुनै अन्तर बाँकी रहँदेन । 

मिलको यो घोषणापत्र ६ मार्च १८५१ को हो । त्यो पुरातनपन्थी समयमा पनि एक जना ब्यक्तित्व यस्ता थिए जुन तत्कालीन समयको धाराका बिपरीत तैरिन हिम्मत राख्दथे ।जुन कुरा कानुनबाट सम्भब थिएन त्यसलाई कानुनबाट बाहिर गएर हासिल गरे। मिलको यो उदाहरणले बताउँदछ कि एक ब्यक्तिको पहलबाट पनि परिबर्तनको धारा फुटेर निस्कन सक्तछ । मिलको समयमा त यो कुरा हुन सकेन तर बिस्तारै बिस्तारै युगान्तकारी परिवर्तनहरु आउँदै गए । आज कानुनी स्थितिमा त कुनै फरक या बिभेद  छैन । र, यस्तो स्थिति ल्याउन पनि जान स्टुआर्ट मिल जस्ता थाहा छैन कयौं भद्र मानिसहरुको हात रहेको होला । आज यस्ता हजारौ अझ भनौ लाखौं भद्र मानिसहरु चाहिएका छन् जसले आफ्नी पत्नीसँगको प्रेमका साथसाथै स्वतन्त्रता र समानताको अधिकार दिएर प्रसन्न हुन सकुन् ।

यद्यपि शोषणमा आधारित समाज र शासनमा समानताको कुरा ब्यबहारमा होइन कागजमा मात्र सीमित रहन्छ र त्यो ‘शो केश’मा राखेर प्रदर्शन गर्ने एउटा आडम्बरी कुरा मात्र हुने गर्दछ । आजको बिश्व समाजको सामाजिक संरचनाका हरेक क्षेत्रमा अधिकांंशतः यस्तै तस्वीर प्रष्ट देखिन्छ । यो तस्वीर बदल्ने संघर्षमा लाग्नु नै वास्तवमा आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता हुन्छ ।


२४ फाल्गुन २०७७, सोमबार १०:५० मा प्रकाशित

 

Loading…