बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

sajha
प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार ११:२४

काठमाण्डाै – बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको  खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।

उनको साथबाट प्रहरीले चार हजार ६ सय अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०७७


१८ चैत्र २०७७, बुधबार ११:२४ मा प्रकाशित

 

Loading…