सरकार र थरुहटबीच तेस्रो चरणको वार्ता, मागबारे बुँदागत छलफल

sajha
प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलवार १९:४३

काठमाडौं, चैत २४ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले बताउनुभयो । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको बुँदागतरुपमा अध्ययन गरी सम्बोधनमा सरकार सकारात्म रहेको बैठकमा जानकारी गराउनुभएको थियो । वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरीकाअनुसार आजको बैठकमा बुँदागत रुपमा मागबारे छलफल भयो ।

छलफल सकारात्मक रुपले अघि बढेकाले अव बस्ने बैठकमा विट मार्नेगरी अगाडि बढ्ने सहमति बनेको उहाँले जानकारी दिनुभयो । थरुहट पक्षले उठाएको मागमध्ये सांसद रेशमलाल चौधरीको रिहाई तथा झुठा मुद्दा खारेजको विषयलाई कानुनी आधारमा समाधान खोज्ने र बाँकी मागहरु वार्ताबाटै सहमतिमा पुग्ने करिब सहमति बनिसकेको तर अन्तिम रुप दिन मात्र बाँकी रहेको थाकसका महामन्त्री समेत रहनुभएका चौधरीले जानकारी दिनुभयो ।

थरुहट पक्षले उठाएको मागमा लोक सेवा आयोगमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरिनुपर्ने, थरुहट आन्दोलनका बेला शहिद भएका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहादत्त प्राप्त गरेकालाई शहिद घोषणा गर्नुपर्ने मागमा करिब सहमति बन्ने वातावरण बनेको वार्ता समिति सदस्य चौधरीले बताउनुभयो । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले पाँच सदस्यीय वार्ता टोली गठन गरी सरकारसँग वार्ता गरिरहेको छ ।

आज गृह मन्त्रालयमा साँझ साढे ४ बजेबाट शुरुभएको वार्ता साढे ५ बजेसम्म चलेको थियो । यसअघि पहिलो चरणको वार्ता १७ गते मंगलबार, दोस्रो चरणको वार्ता २२ गते आइतबार भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र विज्ञ डा. राजन भट्टराई, पूर्व राज्यमन्त्री भगवती चौधरी हुनुहुन्छ । त्यस्तै, थरुहट पक्षको तर्फबाट संयोजक पूर्व सांसद रुक्मिणी चौधरी, सदस्य पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, चन्द्रपसाद चौधरी र प्रभातकुमार चौधरी रहनुभएको छ । 


२४ चैत्र २०७७, मंगलवार १९:४३ मा प्रकाशित

 

Loading…