रुपन्देही । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर बुटवलमा दशैं बजार संचालन गरिने भएको छ। उपोभोक्ताको सहुलियतका लागि आगामी असोज १२ गते घटस्थापनाको दिन देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन हुने बताईएको छ ।
संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष दशैं सस्तो बजार हुन सकेको थिएन । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिने संयोजक कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताए ।
बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्रि वितरण गर्नेगरी दशैं बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।संघको सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिने दशैं बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्रि राखिने छ । दशैंबजारमा नयाँ नोटको सटही सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।
उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको बताउदै उनले यस पटक पनि दशैं बजार सञ्चालन गर्ने निर्णय गरिएको जनाए।दशैं बजारमा आउने उपभोक्तालाई त्यहाबाट बिक्रि हुने सामानमा विशेष छुट प्रदान गरिने संघले जनाएको छ ।