लामो समयदेखि कमलपित्त (जण्डिस) रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ ।
पछिल्ला केही दिनदेखि पुनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष प्रचण्डले पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका सम्बद्ध पक्षले जानकारी दिएको छ ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको ब्रुमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको बताइन्छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गरेका छन् ।