–रामबिकास चौधरी, रुपन्देही
रूपन्देही काङ्ग्रेसमा स्व. नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको नेतृत्वसम्म बलियो रहेको तत्कालीन संस्थापन (गिरिजा) गुट सभापति देउवाको दबदबासँगै हराउन थालेको छ ।
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा भएको गाउँ/नगर अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । रूपन्देहीमा देउवा पक्षको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण समूहका नेताले गरेका छन् ।
एक उपमहानगर, पाँच नगर र दश गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा बुटवल उपमहानगरपालिकासहित तीन पालिका पौडेल पक्षमा ढल्किएको छ भने ११ वटा पालिकामा देउवा पक्षले जितेको छ । रूपन्देहीको दुईवटा पालिका सभापति भने दुइवटै खेमाको साझा छन् ।
अहिलेको अधिवेशनमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र मायादेवी गाउँपालिका पौडेल खेमामा पल्टिएको छ भने जिल्ला सदरमुकाम रहेको सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैना नगरपालिकाको नेतृत्वमा देउवा पक्षले जितेको छ ।त्यसैगरी सम्मरीमाई, कोटहीमाई, गैडहवा, कञ्चन, सियारी, सुद्धोधन र रोहिणी गाउँपालिका सभापति शेरबहादुर देउवा खेमाले जितेको छ भने ओम सतिया र मर्चवारी गाउँपालिका बाहिरबाट देख्दा तटस्त देखिन्छ । तर यी दुई सभापतिको जीतमा पनि खाँण खेमालाई नै श्रेय जान्छ ।
बुटवल उपमहानगरमा खेलराज पाण्डेले ह्याट्रिक हानेका छन् भने देउवा पक्षको दबदबा रहेको देवदह र गृहमंत्री खाँणको निर्वाचन क्षेत्र जोडिएको मायादेवी गाउँपालिकामा पौडेल पक्षले नै बाजी हात पारेको छ । देवदहमा देउवा पक्षकै हिरा केसी नगरप्रमुख छन् । यस अवस्थामा पौडेल पक्षले बाजी मार्नु साधारण तागतको खेल पक्कै पनि होइन ।
देउवा पक्षका बालकृष्ण खाँण अहिले नेपाल सरकारको गृहमन्त्री छन् । अर्का नेता भरतकुमार साह प्रतिनिधिसभा सांसद तथा सार्वजनिक लेखा समितिका सभापति छन् । नेपाली काङ्ग्रेसका रूपन्देही जिल्ला सभापति एवम पूर्वमन्त्री अब्दुल रज्जाक र उदाउँदा नेता रामकृष्ण खाँणसमेतको बलियो उपस्थिति छ ।
पौडेल पक्षका अष्टभुजा पाठक प्रदेशसभा सदस्य छन् भने युवा नेता एवम् सङ्घीय सांसद प्रमोदकुमार यादवको नेतृत्व क्षमता र पकडलाई सबैले मान्नैपर्छ । रामचन्द्र ढकाल, मातृका यादव र थानेश्वर घिमिरेलाई पनि पौडेल पक्षको काङ्ग्रेस राजनीतिका धुरन्धर खेलाडी गनिन्छन् ।
त्यसैगरी प्रदेश सभासदस्य फकरूद्दिन खान र वसिउद्दिन खानको मूल्याङ्कनमा काङ्ग्रेस अधिवेशनको क्रममा देउवा पक्षबाट उल्लेखनीय भूमिका देखिन्छ ।