साझा न्यूज । कृष्णनगर
कपिलवस्तुको सीमावर्ती नाका कृष्णनगर नगरपालिका वडा नं. २ वसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय नेपाली रुपैया सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ९ वस्ने २२ वर्षीय जीवन प्रसाद भुषाल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ युवकलाई बरामद २२ लाख ९१ हजार ८ सय रुपैया सहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वसपार्कमा कालो झोला बोकेर शंकास्पद गतिविधी गर्दै हिडेको देखे पछि प्रहरीले भुषाललाई सोधपुछ तथा खानतलासी गर्दा उनीबाट स्रोत नखुलेको सो रकम फेला परेको हो । सो रकम हुण्डी कारोवारको अथवा भारतीय रुपैया सहटीको प्रयोजनका लागि ल्याईएको हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि पक्राउ परेका भुषाले भने यस सम्वन्धमा कुनै प्रतिक्रिया दिन नमानेको प्रहरीले जनाएको छ ।