काठमाडौं, २९ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रबिक्रम चन्द बीरजङ्गको निधन भएको छ । बीरजङ्ग नेकपाका महासचिव नेत्रबिक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बीरजङ्गको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ ।
जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बाग्लुङको इञ्चार्जको जिम्मेवारी निर्वाह गरेका बीरजङ्ग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।
केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बीरजङ्ग कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षीय बीरजङ्गका दुई छोरा र एक श्रीमती छन् । वीरजङ्गको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।