काठमाडौँ । बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा बिहिबार सुदूरपश्चिम प्रदेश जाने भएका छन् । उनीसंग एक मन्त्री र तीन जना पूर्वमन्त्री पनि जाने तय भएको छ । नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपरान्ह भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन् । नेता साउदका अनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन् ।
प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन्। टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले जानकारी दिए । सरकारले बाढी पिडिलाई घर बनाउन ३ देखि ५ लाखसम्म दिने निर्णय गरेको छ । आज मन्त्रिपरिषद्को बैठक बसी बाढीपहिरोबाट ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने र एकै परिवारका १ भन्दा बढीको मृत्यु भएमा जनही १ लाख थपेर दिइने समेत उल्लेख गरिएको छ ।