नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः परिवर्तन भएको छ । पटक-पटक मिति परिवर्तन गर्दै आगामी मंसिर ९-१३ मा गर्ने गरी तय गरिएको १४औँ महाधिवेशन अब मङ्सिरको २४ देखि २६ गतेसम्म हुने निर्णय गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वडा तहदेखि प्रदेशसम्मका सम्पूर्ण निर्वाचन सम्पन्न गरेर आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा १४औँ महाधिवेशन सम्पन्न गर्नेगरी नयाँ मिति तोकेको हो ।
काङ्ग्रेसको पछिल्लो निर्णयअनुसार कांग्रेसले सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते सम्पन्न गर्ने, गाउँ नगरपालिका अधिवेशन कात्तिक ३० गते सम्पन्न गर्ने, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्ने जनाइएको छ ।
यस्तै सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते र जिल्ला अधिवेशन मङ्सिर १ गते सम्पन्न गर्नेगरी मिति तोकेको छ । जुम्ला जिल्लाको भने जिल्ला अधिवेशन मङ्सिर १ गते हुनेछ ।
निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका काठमाडौंलगायतका ४६ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र जिल्ला अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्ने गरी समय तोकिएको छ ।
मङ्सिर ९ देखि १३ मा हुने भनिएको कांग्रेसको प्रदेश अधिवेशन भने मङ्सिर १६ र १७ मा गर्ने जनाएको छ । कांग्रेसले रौतहट र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद भने हालसम्म टुङ्ग्याउन सकेको छैन ।