आफूलाई ‘बिचौलिया’ संज्ञा दिएर झुठो समाचार प्रकाशित गरी चरित्रहत्या गरेको भन्दै सूचना प्रविधि क्षेत्रमा व्यवसाय गर्दै आएका दीपक तिमल्सिनाले कान्तिपुर दैनिक तथा सो अखबारका प्रधानसम्पादकविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् । गत असोज २२ गते कान्तिपुरमा ‘२१औँ मन्त्री’ शीर्षक दिएर प्रकाशित समाचार झुठो तथा व्यक्तिगत मानमर्द्धन गर्ने दुर्उद्देश्यबाट प्रेरित भन्दै व्यवसायी तिमल्सिनाले काउन्सिलमा उजुरी दिएका थिए । गम्भीर आपत्ति प्रकट गर्दै लिखित उजुरी परेपछि काउन्सिलले असोज २४ गते उक्त अखबारका प्रधानसम्पादकलाई सम्बोधन गरी ‘समाचारको विषयमा सात दिनभित्र जवाफ पेस गर्न’ पत्र काटेको थियो । तर तीन साता बित्न लाग्दा पनि हालसम्म कुनै कारवाही नभएको भन्दै पीडित तिमिल्सिनाले असन्तुष्टि प्रकट गरेका छन् ।
काउन्सिलद्वारा कान्तिपुरका प्रधानसम्पादकलाई प्रेषित पत्रमा समाचारविरुद्ध तिमिल्सिनाले उजुरी दर्ता गरेको उल्लेख गर्दै भनिएको थियो- ‘पहिलो पृष्ठमा बनाइएको ब्यानर समाचारमा म दीपक तिमिल्सिनालाई प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने प्रस्ताव भएको मात्र होइन, बिचौलियाका रूपमा परिचित भन्दै जथाभावी संज्ञा समेत दिइएको छ । म लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा आफ्नै व्यवसाय गर्दै आएको छु । आफ्नो अध्ययन, सीप, ज्ञान, भएको सूचना प्रविधि विषयमा काम गर्दा कान्तिपुरले अनदेखा गरी मलाई आक्षेप लगाउने काम गर्नु आचारसंहिता विपरीत हो । यसरी चरित्रहत्या हुने, मानमर्दन गर्ने गरी लेख्न पत्रकारिताको ज्ञान भएको एक सामान्य व्यक्तिले पनि सक्दैन । झन् पत्रकारिता पढेका, बुझेका, पत्रकार भएका सञ्चार संस्थाले यसरी कुनै व्यक्तिको हुँदै नभएको झुटो कुरा एकोहोरो प्रकाशन गर्नु दुःखद् हो । यो विषयमा गम्भीर छानबिन गर्न र दोषी मिडियामाथि आचारसंहिताको कारवाहीको लागि यो निवेदन पेस गरेको छु भनिएको छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष, मुख्य अधिकृत, प्रवक्ता, सूचना अधिकारी र उजुरीकर्ता दीपक तिमिल्सिनासहितलाई बोधार्थ दिइ काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लद्वारा कान्तिपुरलाई काटेकोे सो पत्रमा अगाडि भनिएको छ- ‘पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामाग्रीको सम्प्रेषण गर्नुपर्ने, कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी पेशगात मर्यादाप्रतिकुल कार्य गर्न नहुने, तथ्यगत पुष्टिबेगर सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाईलाई स्थान दिनुपर्ने पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ । उक्त सम्बन्धमा निज तिमिल्सिनालाई के/कसरी बिचौलिया संज्ञासहितको सामाग्री सम्प्रेषण हुन गएको हो ? ७ दिनभित्र स्पष्ट जवाफ पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’
तर, प्रेस काउन्सिल नेपालले कारवाही प्रक्रिया अघि बढाउँदै यसरी पत्र काटेको तीन साता हुँदा पनि कान्तिपुरका तर्फबाट कुनै वास्ता नगरिएको बुझिएको छ । पछिल्ला दिनमा सम्मानित सर्वोच्च अदालत तथा प्रधानन्यायाधीशविरुद्ध श्रृङ्खलाबद्ध रूपमा विभिन्न समाचार प्रकाशित गर्दै आएको सो अखबारले आफ्ना समाचारको विश्वसनियतामाथि प्रश्न उठेपछि त्यसबारे राज्यको आधिकारिक निकायले जवाफ पेस गर्न आग्रह गर्दा बेवास्ता गर्नु आफैमा अनुचित र रहश्यपूर्ण मानिएको छ । यसरी कान्तिपुरले प्रदर्शन गरेको ‘दादागिरी शैली’प्रति अब प्रेस काउन्सिल नेपालको कस्तो प्रतिक्रिया रहन्छ- रोचक जिज्ञासाको सन्दर्भ बनेको छ भने, समाचारका कारण आफू पीडित बन्न पुगेको दाबी गरेका तिमिल्सिनाको भाबी कदम के होला ? यो पनि प्रतीक्षाको विषय बन्न पुगेको छ । घटना र विचार