जपान । अक्टोबर ३१ तारिख रात टोकियोको चोफु सहरमा गुडिरहेको केइओ लाइन रेलमा आगो लगाएर एक व्यक्तिले १७ जनालाई चक्कु प्रहार गरि घाईते बनाए । घाईते मध्ये एकजना अचेत अवस्थामा छन् । महानगरीय प्रहरी विभागले हत्या प्रयासको आशंकामा २४ वर्षीय एकजनालाई पक्राउ गरी अवस्थाबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।अनुसन्धानको जवाफमा उनले आफूले एक व्यक्तिको हत्या गरी मृत्युदण्ड चाहेको बताएका छन् ।
३१ तारिख राति करिब ८ बजे टोकियोको चोफु शहरको कोकुरियो स्टेशन नजिकै चलिरहेको केइओ लाइन रेलमा एक व्यक्ति सुरुमा धारिलो चक्कु सहित रेलमा प्रवेश गरेका थिए । सिटमा बसेर चुरोट सेवन गरेका उनले सँगैको सिटमा बसेका ७२ वर्षीय यात्रुलाई छुरा प्रहार गरेका थिए ।साथै अभियुक्तले तेल छर्केर रेलको सिटमा आगो लगाएका थिए । टोकियो महानगरीय प्रहरी विभागका अनुसार छुरा प्रहारबाट एक ७२ वर्षीय व्यक्ति गम्भीर रूपमा बेहोस भएका थिए र आगलागि र भागदौडका कारण उच्च माध्यमिक विद्यालयका एक विद्यार्थीसहित अन्य १६ जना घाइते भएका थिए ।
सीमित एक्सप्रेस ट्रेन शिन्जुकुको लागि गुडिरहेको थियो तर घटना लगत्तै कोकुरियो स्टेशनमा आपतकालीन रुपमा रोकिएको थियो । यात्रुहरू झ्यालबाट प्लेटफर्ममा उत्रिएर ज्यान जोगाएका थिए । महानगरीय प्रहरी प्रभागले ज्यान मार्ने उद्योगको आशंकामा पेसा र ठेगाना नखुलेका २४ वर्षीय क्योता हात्तोरीलाई पक्राउ गरेको छ । एक अनुसन्धान अधिकारीका अनुसार उनले अनुसन्धानमा भनेका छन् ‘ म एक व्यक्तिलाई मारेर मृत्युदण्ड चाहन्थें । मैले दुई वा दुईभन्दा बढी व्यक्तिको हत्या गरेमा मलाई मृत्युदण्ड दिइन्छ भन्ने सोचेको थिएँ ।
‘ अभियुक्तले गत अगष्टमा ओदाक्यु लाईनमा भएको घटना जसमा १० जना चक्कु प्रहारबाट घाईते भएका थिए , बाट प्रभावित भएको बताएका छन् । हत्तोरीले हरियो शर्ट , टाई , र नीलो सूट र कोट जस्तो लुगा लगाएका थिए । भित्र पसेका प्रहरीअफिसरले अभियुक्तलाई चक्कु फ्याँक्न भनेपछि उनले आज्ञाकारी भई चक्कु फालेर आफुलाई आत्मसर्मपण गरेका थिए । महानगरीय प्रहरी प्रभागले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटना भएको रेलको डिब्बामा सुरक्षा क्यामेरा नभएकोले भित्रको अवस्था वास्तविक समयमा जाँन सम्भव देखिएको छैन ।