धनुषा । तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।
बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । उहाँले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको भने ।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएका छन्। घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा ७ जना महिला, ४ जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिए । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा २ जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेका छन् ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।