काठमाडौं । बिहिवार साँझ राजधानी ओर्लिएका योगगुरु रामदेव र आचार्य बालकृष्णले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भेट गरेका छन् । प्रचण्ड निवास लाजिम्पाट पुगेर दुबैले प्रचण्ड पत्नीको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए ।
नेपालमा दुईवटा टेलिभिजन उद्घाटन गर्न आएका योगगुरु रामदेव र आचार्य बालकृष्ण स्याङजा जाने कार्यक्रम रहेको छ । स्याङ्जामा बालकृष्णको पुर्ख्यौली घर रहेको छ ।
उनीहरूले भोलि काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे हातबाट ती टेलिभिजनकाे उद्घटन गराउने कार्यक्रम रहेकाे छ । पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने बताइएकाे छ । एयरपोर्टमा मिडियाकर्मीसँग बोल्दै रामदेवले भने, ‘भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल नै हो । हामी मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्दैछौं । हामी नेपाललाई नयाँ सौगात दिँदैछौं ।’

