खोटाङ – कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति प्रदेश (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार भक्तजंग राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रीय सभापति बनेका हुन् । शनिबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार राजेन्द्रले तीन सय ७२ मत ल्याउँदा भक्तजंगले दुई ८० मत पाएको मतदान अधिकृत शिवहरि ढकालले बताए ।
राजेन्द्रले पौडेल र कोइराला प्यानलबाट क्षेत्रीय सभापतिसहित सबै पदाधिकारीमा बाजी मारेका हुन् । उनी कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलसँग नजिक छन् । उनलाई पौडेलनिकट पूर्व जिल्ला सभापति एवं सभापतिका उम्मेदवार विष्णुकुमार राई, पूर्वसभापति नरेश श्रेष्ठ, महासमिति सदस्य एवं सभापतिका उम्मेदवार रविप्रकाश राई, क्षेत्रीय सभापति इवन राईलगायतको साथ छ । भक्तजंग देउवानिकट पूर्व राज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राईको प्यानलबाट उठेका थिए ।
क्षेत्रीय उपसभापतिमा राजेन्द्र कै प्यानलका बालकुमार राईले तीन सय ३८ मत र मित्रलाल पुरीले तीन सय ५५ मत, सचिवमा राजन भट्टराईले तीन सय ७४ र ज्ञानेन्द्र राईले तीन सय ४४, सह–सचिवमा पृथ्वीनारायण आचार्यले तीन सय ७० र भूपेन्द्र खनालले दुई ७० मत ल्याएर विजयी भएका छन् । १७ जना प्रदेश प्रतिनिधिमा पनि मञ्जु कार्कीबाहेक सबै राजेन्द्रकै प्यानलबाट निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्रीय कार्य समिति प्रदेश ‘ख’को सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । ६ सय ३५ मत खस्दा घिमिरे तीन सय ३१ मत ल्याएर सभापति बनेका हुन् । सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति घोषित नजिताअनुसार उनका प्रतिद्धन्द्धी चण्डीकुमार राईले दुई सय ७५ मत पाएका छन् ।
क्षेत्रीय उपसभापतिमा घिमिरे प्यानलकै महेन्द्र राईले तीन सय २७ मत र राई प्यानलका रामचन्द्र केसीले दुई सय ८८ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन् । सचिवमा तीन सय २४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र दुई सय ८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सह–सचिवमा पनि घिमिरेकै प्यानलबाट तीन सय दुई मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।