काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका उम्मेद्वार बनेका प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका थिए। दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।
भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।
सभापति जित्न प्रकाशमानको भोट निर्णायक रहेको थियो । जसमा देउवालाई साथ दिने सहमति भएको हो ।