काठमाडौं । सरकारले जाडोमा इन्फ्लुएन्जा भाइरसबाट सुरक्षित रहन आग्रह गरेको छ । प्रायः जाडो मौसममा यसको जोखिम बढ्ने गर्दछ । त्यसकारण पनि जाडोमा सबैले विशेष ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ । इन्फ्लुएन्जालाई सामान्य बोलीचालीको भाषामा फ्लु भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि युवा, अधबैँसे र वृद्धवृद्धासमेत गरि सबै उमेर समूहका व्यक्तिहरूलाई लाग्न सक्छ ।
फ्लु कसरी सर्छ ? फ्लु भएका व्यक्तिले बोेल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस यो भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्छ । के हुन् फ्लुका लक्षण ?
–ज्वरो आउनु –खोकी लाग्नु र घाँटी दुख्नु –टाउको दुख्नु –नाक बन्द हुनु वा सिँगान बग्नु –जिउ र मांसपेशी दुख्नु –थकान महसुस हुनु फ्लुको रोकथाम कसरी गर्ने ? –बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी कायम राख्ने –सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने –खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने –बेलाबेलामा साबुनपानीले मिचिमिची धुने वा स्यानिटाइजरको प्रयोग गर्ने –शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त मात्रामा तरल पदार्थ र पौष्टिक खाना खाने –आफ्नो आँखा, नाक वा मुख नछुने फ्लु भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा राग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतिपय अवस्थामा फ्लु भएका बिरामीहरूलाई ज्वरो पनि नआउने हुन सक्छ ।