टोकियो/जापान । जापानमा पछिल्लो पटक( १३ देखि १९ डिसेम्बरको बिचमा)विभिन्न मुलुकबाट जापान प्रवेश गर्ने ६८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार राती सार्वजनिक गरेको तथ्यांक्क अनुसार,यस महिनाको १३ तारिखदेखि १९ तारिखको बिचमा, नारीता, हानेदा तथा कान्साई विमानस्थल हुँदै जापान प्रवेश गर्ने क्रममा रहेका ६८ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
यस पटकका संक्रमितहरु १० वर्षदेखि ७० वर्ष उमेर समूहसम्मका मानिसहरु रहेका छन् । यसरी संक्रमित हुनेहरुमा अधिकांस मानिसहरु अमेरिका,फ्रान्स,स्पेन र नाईजेरिया बसेको रेकर्ड भएकाहरु भनिएकोछ । वास्तवमा उनिहरु त्यहि देशका नागरिक हुन् या अन्य मुलुकका त्यसबारे भने केहि बताईएको छैन । पछिल्लो पटक पुष्टि भएका ६८ जनासंगै जापानमा ओमिक्रोन भेरियन्ट संक्रमित संख्या १६० जना पुगेको छ ।स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै प्रकाशन भएका जापानी समाचारहरुका अनुसार, ओसाकामा पुष्टि भएका ३ जना संक्रमितहरुको संक्रमण स्रोत फेला परेको छैन ।
उनिहरु कहाँबाट संक्रमित भएको नखुलेकाले जापानमा पहिलो पटक समूदाय स्तरमै संक्रमण विस्तार भएको हुनसक्ने आँकलन गरिएको छ । जापानमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएकाहरुसंगै जहाजमा आएका, उनिहरुसंगै एउटै रुमा बसोवास गरेका तथा भेटघाट भएका( संक्रमण जोखिम भएकाहरु) मानिसहरुको संख्या ४३ सय जनाभन्दा धेरै भएको बताईएको छ । यदि ति संक्रमितहरुको नजिकका सम्पर्कमा पुगेका मानिसहरुमा पनि संक्रमण पुष्टि भएको खण्डमा जापानमा पनि ओमिक्रोनले माहमारीको रुप लिने संकेत गरेको छ ।