काठमाडौं, १४ पौष । आज दिवंगत राजा वीरेन्द्र शाहको जन्म दिन । १४ पौष २००२ मा वीरेन्द्रको जन्म भएको थियो । वीरेन्द्रलाई सम्झने अझै धेरै छन् । लोकप्रीय थिए वीरेन्द्र शाह । शालिन स्वभाव र आकर्षक व्यक्तित्वका कारण पनि उनी धेरैका लागि प्रीय थिए । १९ जेठ २०५८ मा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । त्यतिबेला ५५ वर्षका वीरेन्द्र र उनकी रानी ऐश्वर्याको मृत्यु भएको थियो ।
उक्त घटनामा छोरा निराजन, छोरी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको समेत मृत्यु भयो । वीरेन्द्रले पिता महेन्द्र शाहको निधनपछि सन् १९७२ मा नेपालको राजकीय सत्ता सम्हालेका थिए । उनको शिक्षादिक्षा देश विदेशका नाम चलेका शैक्षिक संस्थाहरुमा भयो । दार्जिलिङको सेन्ट जोसेफ कलेज, बेलायतको इटन कलेज, टोकियो विश्वविद्यालय र हावर्ड विश्वविद्यालयमा शिक्षा लिए । पञ्चायती निर्दलीय शासनकालमा उनले गद्दी सम्हालेका थिए ।
पछि २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र स्थापनाको घोषणा गरे । शासनमा सक्रियता देखाउन नचाहने राजा भएकाले वीरेन्द्र विवादमा परेनन् । उनले भेष बद्लेर नेपाली गाउँ–बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे । जसक्रममा उनले स्थानीय तहका उपलब्ध वस्तुहरुको उपभोग गर्दैै गाउँघर र गुम्बाहरुमा समेत रात बिताए । नेपाली कलाका पारखी राजा वीरेन्द्र नेपाली कलाकारहरु र शिल्पकारहरुका दह्ररिलो सहयोगी थिए । उनले हेलिकप्टर उडाउन समेत सिके ।