- आरपी उपाध्याय, नवलपरासी
पुर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बासामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बर्दघाटको भुताहा बस्ने वर्ष ३६ का उमाशंकर गिरीको मृत्यु भएको हो । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७१७९ नम्बरको माइक्रोबसले सोही दिशातर्फ जाँदै गरेको लु ५४ प १२२ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिएको थियो ।
कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल माइक्रोबसको अघिल्तिरको टायरमा ठोक्किएको प्रहरीले जनाएको छ । ठक्कर पछि गम्भीर अवस्थामा गिरीलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन भने मृतक गिरी परासीका लेखापढि कानुन व्यवसायी रहेको जानकारीमा आएको छ ।
पश्चिम नवलपरासीमा सवारी दुर्घटना ह्वात्तै बढ्नुलाई चिन्ताको विषय मानिएको छ । जथाभावि सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, सडकको जिर्ण अवस्था लगायतका कारणबाट दुर्घटना बढ्दै गएको हो । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले पनि सवारी दुर्घटना बढेको बताइएको छ ।
यसैबीच भुमहि भैरहवा सडक खण्डमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । भुमहि भैरहवा सडक खण्डको रामग्राम १६ बकेनवामा परासीतर्फ आउँदै गरेको लु ४९ प १२४ नम्बरको मोटरसाइकल र भैरहवातर्फ जाँदै गरेको लु २३ प १८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । घाइते दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पश्चिमले जानकारी दिएको छ । यस सम्बन्धमा पश्चिम नवलपरासीका प्रहरी प्रमुख मनोज कुमार यादवले सवारी नियमविपरीत सवारी चलाउने, मदिराजन्य वस्तुको सेवन गर्ने लगायतका कार्यबाट सवारी दुर्घटना भएको बताउँदै यस्ता कार्यको रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गरिनुका साथै ट्राफिक नियमको पुर्ण पालना गरि चलाइएमा दुर्घटना रोक्न सकिने प्रतिक्रिया दिनुभएको छ।