काठमाडौं । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ। हिमपातले जनजीवन थप कष्टकर बनेको छ। सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिमपात भएको छ ।
हिमपातले हुम्ला सेताम्य भएको छ। हिमपातसँगै हुम्लाको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको हो । चिसोले बृद्धबृद्धा, बालबालिकालाई घरबाट निस्कनै कठिन भएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सक्ने अवस्था छैन ।
हिमपातले पशुचौपाया चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । चौरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन् ।
यस्तै सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे टिउसन पढ्दै आएका विद्यार्थी चिसोले थप मारमा परेका छन् ।
बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको हो । हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।