काठमाडौँ । घोराही कारागारबाट प्रहरीको मोटरसाइकल प्रयोग गरेर फरार भएका नाइके यमराज परियार भारतमा पक्राउ परेका छन् । उनलाई भारतबाट आज नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।
परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ । यो विषयमा ४ बजेपछि आधिकारिक रुपमा जानकारी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिआइबीको टोलीले समेत परियारको खोजी गरिरहेको अवस्थामा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए। गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए। उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए।
कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।