बैतडी, साउन १५ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
तीन वर्ष अघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल कालोपत्रे गरिएको थियो । तयपछि पाँच करोड खर्च गरेर टर्मिनल भवनसमेत गरी यहाँ राज्यको १६ करोड रुपियाँ खर्च भएको छ ।
धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् ।
विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताउनुभयो । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनु पर्ने उहाँले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको यहाँको कार्यालय समेत बन्द रहेको छ । प्राधिकरणले खटाएका कर्मचारी कृष्णदत्त भट्ट समेत सरुवा भएर अन्यत्र गएपछि पूर्ण रूपमा ठप्प नै भएको हो । यता पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले निजी क्षेत्रका हवाई कम्पनीले महँगो भाडा लिएर सातामा एक पटक मात्र उडान भर्दा यात्रु अभाव भएकाले उडान बन्द गरेको बताउनुभयो । नियमित सेवा दिन भाडा दर कम गरेर सातामा तीन पटक उडान गर्नु पर्ने र नेपाल विमान एयरलाइन्सले तत्काल सेवा विस्तार गर्नु पर्ने माग उहाँले राख्नुभयो । नेताहरूको जनतामा चुनावी नारा समेत बनाएकाले यसलाई पुरा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।