समाजमा बढ्दो अपराधले सबैलाई चिन्तित बनाएको छ । अपराध नियन्त्रण राज्यको लागि अवश्यपनि चुनौतीपूर्ण कार्य हुन गएको छ । अपराधको कारण समाजको शान्ति सुब्यवस्था हरण हुन्छ नै ।, साथै सुखी नेपाली ,सम्वृद्ध नेपालको मार्गचित्रमा साढेसातीको दशाले थप तहस नहस गरिदिन्छ केहीसमय पहिले कपिलवस्तुमा घटेको एउटा अकल्पनीय जघन्य अपराधकर्मले पूरै समाजको ध्यानाकर्षण गर्यो । हृदयविदारक यो अपराधकर्मले समाज तरङ्गीत हुनुका साथै अनेकौ प्रश्नहरुको घनचक्करको घेराबन्दीमा समेत पारिदियो ।
आफ्नै श्रीमतिका कारण घटीत यस अपराधले आमाजस्तो पबित्र शब्दमासमेत प्रश्नचिन्ह लिएर उभियो । समाजको अस्तित्व रहून्जेल यसको चर्चा परिचर्चाले सम्बन्धित नाबालकहरुको मनोसामाजिक अवस्थामा उही घाँउमा नुनचूक हाले झै हुने प्रबल सम्भावना तर्फ कपिलबस्तु समाज संचेत रहनु पर्ने समयको माग रहेको छ । यो बिषयलाई समाजसंग जोडेर सोच्न चुक्यौ भने यसको दुष्परिणामले समाज आक्रान्त नहोला भन्न सकिदैन । किनकी समाज सास्त्रले, हरेक क्रियाको प्रतिक्रिया हुन्छ भन्ने मान्यता बोकेको हुन्छ । यसमानेमा यसबाट सिर्जित हुन सक्ने थप चुनौतीलाई सम्बोधन गर्न समयमा नै संचेत रहनु पर्ने समयको मागलाई नजरअन्दाज गर्नु अर्को अपराध हुन जानेछ ।
दिपक पाण्डे गोलीका शिकार भए । गोली हान्ने ओमप्रकाश यादव समुहका सबै कानुनको कठघरामा पुगे । दीपककी श्रीमति महिमा पाण्डेले आमाको गरिमालाई महिमाखण्डन गर्दै आफ्नै श्रीमानको हत्या गर्ने गराउने उद्यम गरेकाले प्रहरी अप्रेशनमा परिन । कपिलबस्तु जिल्ला प्रहरीले हत्याकाण्डका सबै अभियुक्तहरुलाई सार्बजनिक गरेर प्रशंसनीय कार्य गर्यो । हामीलाई जो शंका थियो कि के सक्ला र भनेर ,त्यसको निवारण गरेर अनुसन्धानमा खटिएका प्रहरी टीमले आफ्नो दक्षता र कार्य सम्पादनको उत्कृष्ट नमूना पेश गरेर प्रशंसाको पात्र हुन पुग्यो ।,जसका लागि उनीहरु बधाईका भागिदार हुने नै भए । घटना छानबिनमा सामेल प्रहरी टिमको यो सफलताको लागि पुरै कपिलवस्तु समाज आभारी छ ।, र हुनुपर्छ ।
के यतिकैमा यो समस्या समाधान भयो त ?
एक प्रश्नले हजारौ प्रश्नहरु उब्जाऊछ भने झै यस गोली काण्डले उभार गरेका प्रश्नहरुको यथासमय सम्बोधन गर्न सकिएन भने थप समस्याहरुको भूमरीमा समाज पर्ने प्रवल सम्भावना तर्फ एक सामाजिक अभियन्ताको नाता र कार्यअनुभवले विश्वस्त छु । यही सेरोफेरोमा दिपक पाण्डे हत्याकाण्डले उब्जाएको दोस्रो पाटो तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहेको छु ।
कुरो ती निर्बोध र असांहय दुई बालकहरुको हो ।, जसको जीवन समयको दुश्चक्रको सुनामीमा परेर अस्तव्यस्त एबं जोखिमपूर्ण छ ।
विषय प्रवेश
यी अबोध बालकहरुको बाबु दीपक पाण्डेको भौतिक शरिर अब हामीबीच रहेन । यतिभए त ठिकै थियो ।,तर आमाको अपराधकर्मले आजिवन कारावासमा नारकीय जीवन बिताउनुको विकल्प रहेन । अन्य कसुरवालाको पनि त्यही अवस्था रहने छ ।
रह्यो सवाल यी दुई नाबालकहरुको जसको जीवन पुरै अन्धकारले छोपिएको छ । यिनीहरुको पालनपोषण तथा उचित शिक्षादिक्षाको प्रवन्धनको विश्सनीय आधार देखिएको छैन । यो सत्यता यस कारणले भन्न बाध्य छु कि उनीहरु धेरै समय घरपरिवार नातासम्बन्धबाट अलग रहेर आफ्नो जीवन गुजारा गरिरहेका थिए । यो पंक्तिकारको घरमासमेत लगभग एक बर्षजति किरायदारका रुपमा बसेका हुन ।
समाज ब्यक्तिबादतर्फ उन्मूख छ । एउटै कोखबाट जन्मेका दाजुभाइ तथा दिदिबहिनी त कालान्तरमा आआफ्नो स्वार्थमा लिप्त रहेका र एकआपसमा दुश्मन बराबरको सम्बन्ध हुन पुगेका अनेकौ घटनाहरु देखिएको ,सुनिएको र अनुभूत गरिएको सवालमा कसैको दुईमत नरहला । हो केही अपबाद पनि छन् ।,जहाँ प्रशंसनीय अभिभावकीय भूमिका निर्वाह गरेका दृष्टान्तहरु पनि छन् ।
केही प्रश्नहरु छन् जसको उचीत उत्तर र तत्अनुरुपको समाधान खोजिनु पर्छ ।
के यी नाबालकहरुको जीवन सुरक्षित छ त ?
दीपक तथा महिमा पाण्डेको चलअचल सम्पत्ति यिनीहरुको हकमा सुरक्षित छ त ?
उचीत पालनपोषण तथा आवश्यक शिक्षादिक्षा पाउने तर्फ के यिनीहरु सुरक्षित छन् त ?
बाबु परलोक , आमा जेलमा , यी दुई नाबालक छन् । भोलीका दिनमा यी नाबालकको नागरिकता बन्न समस्या नआओस् भनेर अहिले नै सो को सुव्यबस्था गर्न आवश्यक छ कि नाई ? विराहरु भोलिका दिनमा ठगिने पो हुन कि ? अपराधी आमाको कुनै भर नदेखिइको कारुणिक अवस्था देखिन्छ ।
राज्य तथा समाजले यिनीहरुको उज्वल भबिष्यका लागि पहल गर्नु पर्ने अवस्था छ कि नाई ?
यी माथि उल्लेख गरिएका जो प्रश्नहरु छन त्यसको सत्यतथ्य उत्खनन् गरेर सम्बोधन गर्न सकिएन भने कालान्तरमा गएर समाजले ठुलो मूल्य चुकाउनु पर्ने अवस्था नआउला भन्न सकिदैन । किनकी यो समाजमा अरुपनि धेरै बालबालिका छन् जो प्रत्यक्ष होस् या अप्रत्यक्ष यिनीहरुसंगको घुलमिलमा अवश्यपनि पर्नेछन् । कदमकदाचित त्यहाँ रीष र द्ध्रैषको वाताबरण बन्न गयो भने परिदृष्य कस्तो बन्ला ? अवश्यपनि कहालीलाग्दो अर्को पाटोको दृश्यहरु सतहमा आउन थाल्ने छन् ।, र यसबाट सिर्जित समस्याले हानी त समाजलाई नै हुने हो । होईन त ?
कसैको कुबचनको मारमा यिनीहरु पर्न गए उनीहरुको मनोदशाले विकुत रुप लिन पुगे अर्को हानी नोक्सानी नहोला भन्ने कुनै ग्यारेन्टि देखिदैन । लोभीपापी समाज छ । सम्बन्धहरु घाटा नाफाको तराजुमा अडिएको तितो यथार्थ बोध गरौ । अत: यसै सन्दर्भमा यी अबोध बालकहरुको जीवन सुरक्षाको रेक्क्यूमा अभियन्ता , राजनीतिक दल र तिनका कार्यकर्ता , बुद्धिजिवीलगायत सबैजनाको अग्रसरता समयको माग रहेको तर्फ संचेत रहे यी दुई नाबालकको जीवनमा वहार आउने निश्चित प्रायं छ नै ।
समाज रुपान्तरणका लागि मिडिया चौथो र महत्वपूर्ण खाँबो भएको हुनाले सम्पूर्ण मिडियाकर्मीलाई यसतर्फ अग्रसरता लिएर यी अबोध तथा निर्दोष नानीबाबुको उज्यालो जीवनको लागि भरथेग गरिदिन यसै लेख मार्फत अपील गरेको छु । मेरो आफ्नो प्रयाश पनि समस्या समाधान नभएसम्म जारी रहने छ ।
कसरी अगाडि बढ्ने त ?
कुनैपनि मिसनको सफलता यसको उचीत कार्यान्वयनमा भर पर्दछ । यसैले हामी सबैजना जागौँ । विबिध बादभन्दा माथि उठेर विशुद्ध मानवीय भावनाले ओतपोत रहदै यी अबोध नानीबाबुको जीवनमा उज्यालो छरौँ ।
मेरो निजी प्रयासले जो जानकारी प्राप्त भएको छ , कार्यसफलताका लागि यहाँ सम्प्रेषण गरेको छु ।
राष्ट्यिस्तरमा रहेका कुनैपनि परोपकारी संघसंस्थाले बैधानिकताको माग गरेको हुन्छ जसलाई पुष्टि गर्न आवश्यक कागजातको आवश्यकता पर्दछ ।
१. वडाको सिफारिस पत्र जसलाई जिल्ला प्रहरी कार्यालयको प्रमाणिकरसहित जिल्ला प्रशासन कार्यालयले जो जससंग सम्बन्धित छ भनेर आवश्यक सिफारिस दिएमा यता केन्द्रमा पहल गर्न सजिलो मात्र नभएर अनिवार्य नै हुन जान्छ ।
२. नजिकको अभिभावक एव स्वयं कानुनको कठघरामा रहेकी बालकद्धयको आमाको मन्जुरीनामा, जसमा नोटरीको प्रमाणिकरण अनिबार्य ।
३ .नगरपालिकाको सामाजिक विभागको संयोजकको संयोजकत्वमा अबोध बालकद्धय जीवन सुरक्षा सारथि समूहको गठन । कुपया यो समूह धेरैमा २१ जनाको हुने हुनाले सामाजिक भावनाले प्रेरित रहेर गठन भए मिसन बिना बाधा अवरोध अगाडि बढ्ने मात्र होइन , उदेश्यमा सफलता समेत प्राप्त हुनेछ ।
राष्ट्यि स्तरमा के गर्न सकिन्छ त ?
यी अबोध तथा निर्दोष नानीबाबुको उतिच स्याँहार तथा पोषण र उच्च तहसम्म शिक्षा सुनिश्चितताका लागि एसओएस बालग्राम , नेपाल परोपकार संस्था , केन्द्रिय बालमन्दिर लगायत केन्द्र स्तरमा रहेका केही यस्ता बिधालय पनि छन् जहाँ सम्बन्धितको साथ सहयोग लिएर छात्रबृत्तिका लागि पहल गर्न सकिन्छ ।
वास्तवमा फेसबुकमा जब मैले यसबारे लेखेँ , आएका प्रतिक्रियाले हौसिदैँ अगाडि बढ्ने जोश र जाँगर पलाएको छ । सबैको साथ सहयोग र समर्थनको अपेक्षा राखेर हामी संगसंगै अगाडि बढौँ भन्ने हार्दिक अपील गरेको छु ।
स्मरणहोस्, नेपाली जनक्रान्तिमा सहभागी , प्रजातन्त्र सेनानी , कुशल चिकित्सक , समाजसेवी स्व.डा. रामेश्वर पाण्डेका पनाती पुस्ता हुन यी दुई अबोध तथा निर्दोष बालकद्धय ।
अन्त्यमा दिपक भाइको मृतआत्माको शान्तिको कामना गर्दै ।, नेपाल प्रहरी कपिलबस्तुले अनुसन्धानमा देखाएको दक्षताप्रति आभार ब्यक्त गर्दै बीट मार्ने अनुमति चाहान्छु । हामी सबैको श्री तौलेश्वरनाथ बाबाले कल्याण गरुन् ।
-रवीन्द्र कुमार उप्रेती (असिम)
कपिलवस्तु नगरपालिका-१
हाल काठमाण्डौ, धुम्बाराही, ४
४००८०४१, ९८४१८२७९३६, ९८६८८२००७८
ईमेल : [email protected]