रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ ।
निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
‘निषेधात्रालाई थप खुकुलो पार्दै सबै खाले व्यवसाय सञ्चालन गर्न दिने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरी कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरिएको छ,’ सहायक प्रजिअ पाण्डेले भने, ‘कोरोना जोखिम हटिसकेको छैन, कसैले पनि निषेधाज्ञा खुकुलो भयो भनेर लापरवाही नगरौं ।’