काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शुक्रबार (आज) हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीबार महान्यायाधिवक्तामा नियुक्त खातीको शपथ शुक्रबार दिउँसो सवा २ बजे सर्वोच्च अदालतमा हुने तय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
गएको बैशाखमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गराउने बाहेकका शपथ सर्वोच्च अदालतमै व्यवस्थापन गर्न पत्र लेखेकाले त्यसैअनुसार नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण कार्यक्रम सर्वोच्चमै तय गरिएको दाहालले जानकारी दिए ।
यसअघिका महान्यायाधिवक्ताहरु अग्नि खरेल र रमेश बडाललाई भने राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीकै उपस्थितिमा शपथ ग्रहण गराइएको थियो ।