लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का वडाध्यक्ष रमजान अली मियाँ प्रहरीको खोजीसूचीमा छन् । वडाध्यक्ष मियाँमाथि किर्ते र जग्गामा जालझेलको मुख्य योजनाकार रहेको आरोप छ ।
गरिब कोहारको नाममा नक्कली मानिस खडा गरी किर्ते नागरिकता बनाइ जग्गा नामसारी तथा खरिद बिक्री गर्ने प्रपञ्चका मुख्य योजनाकार रहेको आरोपमा रुपन्देही प्रहरीले उनको खोजी कार्य थालेको हो ।
सांस्कृतिक नगरपालिका–१० मधुबनीका ७० वर्षीय गरिब कोहारको नाममा रहेको १० कट्ठा १७ धुर जग्गा हत्याउन वडाध्यक्षले किर्ते मानिस खडागरी नागरिकता प्रतिलिपी र कोहारको नाममा रहेको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी निकाल्न लगाइ जग्गा बिक्री गरेको पीडितको आरोप छ ।
नक्कली कोहार बनेका भारत महराजगञ्ज जिल्ला बनकटवा बस्ने नाम खुल्न नसकेको मानिस वडाध्यक्ष मियाँको आफ्नै ससुरा रहेको स्थानीयको भनाइ छ । वडा कार्यालयले उनलाई २०७७ माघ २५ गते जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी दिनु भनी मालपोत कार्यालय सिद्धार्थनगर रुपन्देहीलाई फोटो टाँसेर सिफारिस दिएको छ ।
मालपोत कार्यालयबाट प्राप्त रेकर्डअनुसार, जग्गाधनी श्रेस्ताको मोठ र जग्गाधनी पूर्जामा फरक ब्यक्तिको फोटो छ । श्रेस्ता हेर्दा फोटो फेरिएको, नक्कली सहीछाप गरेको र औँठाको छाप लगाउदा तीन⁄चार पटक लगाएर नबुझिने बनाइएको देखिन्छ । तर मालपोतका कर्मचारीले त्यतिबेला कुनै त्रुटी देखेनन् र जग्गा बेरोकटोक खरिद बिक्री भयो ।
रेकर्डअनुसार २०७७ फागुन १८ गते १० नं वडा कार्यालयले जग्गाको चारकिल्ला र नागरिकता प्रतिलिपीको सिफारिस पनि दिएको देखिन्छ । प्रतिलिपी निकालेर सो जग्गा नक्कली गरिब कोहार बनेका ब्यक्तिले २०७७ फागुन १८ गते मदनपोखरा–४ पाल्पा बस्ने सन्दीप कार्कीलाई १९ लाख ६७ हजार रुपैयाँमा बिक्री गरेको देखिन्छ ।
सोही जग्गा सन्दीप कार्कीले दुई महिना नबित्दै २०७८ बैशाख १२ गते यशोधरा गाउँपालिका–८ कपिलवस्तुका गोविन्दप्रसाद मल्लाहलाई एक करोड ९५ लाख रुपैयाँको थैली राखेर बिक्री गरेका छन् । गोविन्दले बैङ्कबाट ऋण निकाल्नका लागि जग्गा बैङ्कमा धितो राख्ने उद्देश्यले थैली धेरै राखेको बुझिएको छ ।
उनले २०७८ साउन १२ गते सो जग्गा धितो राखेर एक करोड ५० लाख रुपैयाँ ग्लोबल आइएमई बैङ्क तौलिहवा शाखाबाट ऋण लिएका छन् । आफ्नै नाम र पहिचानबाट किर्ते नागरिकता निकाली आफ्नो जग्गा अर्कैले बिक्री गरी बैङ्कबाट ऋण लिँदासमेत बेखबर रहेका कोहारले थाहा पाएपछि आवश्यक छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै मालपोत कार्यालय भइरहवा र जिल्ला प्रहरी कार्यालयमा समेतमा उजुरी दिएका छन् ।
जग्गाधनी गरिब कोहार विगत १५ वर्षदेखि धेरैजसो ससुरालीमै बस्ने गरेको बताइन्छ । उनका दुई छोरा पनि मामाघरमै बढी बस्छन् । उनीहरू नियमित घरमा नबसेको देखेपछि जग्गा हत्याउन वडा अध्यक्ष मियाँले चलखेल गरेको कोहारको आरोप छ ।
‘मेरो जग्गा बेचिदिने वडा अध्यक्ष रामजान अली मियाँ नै हो’, जग्गाधनी कोहारले भने, ‘मैले सिफारिस माग्दा दिइएन, बुझ्दै जाँदा मेरो जग्गा त बिक्री गरिसकेको थाहा पाएँ । ऊ र उसको गिरोहसमेतलाई कारबाही हुनुपर्छ ।’
पीडित कोहारले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किर्तेमा संलग्न भएको भन्दै सात जनाविरुद्ध किटानीसहित जाहेरी दिएका छन् । जाहेरीमा वडाध्यक्ष रमजान अली मियाँ, मदनपाखेरा–४ का ३१ वर्षीय सन्दीप कार्की, सियारी गाउँपालिका–१ सोनारेत बस्ने ६० वर्षीय भागवतप्रसाद उपाध्यायको नाम उल्लेख छ ।
त्यसैगरी, विहादी गाउँपालिका–५ पर्वतका २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका–१ रुपन्देहीका २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका–१२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका–८ कपिलवस्तुका ४० वर्षीय गोविन्दप्रसाद मल्लाहका नाम पनि किटानी जाहेरीमा रहेको छ ।
प्रहरीले लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको बताएको छ । उपाध्याय लेखापढी व्यवसायी भैरहवा इकाइ समितिका अध्यक्ष हुन् ।
घटनाको भेद खुलेपछि वडाबासी त्रसित छन् । वडाध्यक्षनै मुख्य योजनकार रहेको आरोप लगाउँदै स्थानीय शत्रुघ्न तिवारीले सबैले मालपोत पुगेर आ–आफ्नो जग्गा एकपटक चेकजाँच गर्नैपर्नै आशङ्का ब्यक्त गरेका छन् । समग्र घटनाक्रमको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गरी कारबाहीका लागि सरोकारवाला निकायसित उनको आग्रह छ ।
वडाध्यक्ष मियाँ यतिबेला सम्पर्कविहीन छन् । वडा सचिव महाशर्माले वडाध्यक्ष आफूहरूको सम्पर्कमा नभएको जानकारी गराए । ‘कहाँ हुनुहुन्छ मलाई कुनै खबर छैन’, उनले भने, ‘वडाबाट सिफारिसका कामहरू भएका छैनन् ।’
मालपोत कार्यालय भैरहवाका मालपोत अधिकृत नारायण घर्तीले कानुनअनुसार कागजात पुरागरेपछि जग्गा पास र रोक्का गरिएको प्रतिक्रिया दिँदै उनले भने ‘प्रतिलिपी निकालिएको नागरिकतामा कुनै पनि विवरण गलत देखिँदैनन्, कार्यालयले शङ्का गर्ने र काम नगरिदिने ठाउँ नै भेटिदैन । पछि किर्ते गरेको भन्ने थाहा पाएपछि चकित परेका छौँ ।’
उनले नागरिकता नक्कली र सक्कली थाहाँ पाउने प्रविधि कार्यालयमा नहुँदा समस्या भएको गुनासो गरे । सक्कली गरिब कोहार ७० वर्षका भए । तर नक्कली गरिब कोहारको वडाले दिएको सिफारिसको फोटोमा करिब ३५ वर्ष जतिको देखिन्छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरिब कोहारकै नाममा प्रथम प्रतिलिपी नागरिकता जारी भएको छ । उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ । तर प्रशासनमा भने नागरिकताको प्रतिलिपी लिइएको विवरण नभएको बताइएको छ ।
किर्ते गर्ने व्यक्तिको पहिचान र सिफारिस दिने वडा अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘अनुसन्धान चलिरहेको छ’, उनले भने, ‘किटानी जाहेर भएका व्यक्तिहरूलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ ।’
जिल्ला प्रशासन कार्यालय रुपन्देही प्रमुख अस्मान तमाङले, जिल्ला प्रशासन कार्यालयदेखि लिएर ऋण प्रवाह गर्ने बैङ्कसम्म अनुसन्धानको दायरामा रहेको बताएका छन् । उनले भने, ‘पहिलो त किर्ते मुद्दा दर्ता भएको छ त्यसपछि लिखत बदर हुन्छ, सुरुमा फौजदारी कसुरसम्बन्धी ऐननै एक्टिभ भएर नियन्त्रणमा लिने कामहरू भइरहेको छ ।’
किर्ते नागरिकताको सन्दर्भमा उनले गृह मन्त्रालयको कार्ड र होलोग्राम प्रयोग भएको बताउँदै त्यसतर्फपनि अनुसन्धान भइरहेको जनाए ।