आफूले पाएको पुरस्कारको राशीबाट मधेश मानव अधिकार गृह (माहुरी–होम) कपिलबस्तुले नटुवा समुदायका स्कुले बालबालिकालाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।
माहुरी होमले लुम्बिनी साँस्कृतिक नगरपालिकामा बसोबास रहेका लोपोन्मुख अल्पसंख्यक नटुवा समुदायका विद्यालय जाने बालबालिकालाइ हौसला बढाउन शैक्षिक सामाग्री बितरण गरेको बताइएको हो ।
नटुवा समुदायका २९ घर धुरीका ८५ जना बालबलिकालाई बिभिन्न परिमाणमा स्कुले ब्याग, काँपी, कलम, जेमेट्री बाक्स, पेन्सिल, ईरेजर, कटर र जाडोमा लगाउने स्वेटर लगायतका सामाग्री बितरण गरेको माहुरी होमले जनाएको छ ।
कपिलबस्तु जिल्लाका सो समुदायका ३९ घरधुरीका ९० जना बालबालिकालाइ सामाग्री बितरण गरिसकिएको बताउदै माहुरी होमका अध्यक्ष रबि ठाकुरले यसबाट नटुवा समुदायका बालबालिकालाइ विद्यालय जान हौसला मिल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रमबारे प्रष्टपार्दै अध्यक्ष ठाकुरले उज्वल थापा मेमोरियल फण्डबाट प्राप्त पुरस्कार राशी २ लाख २ हजारमा केही रकम थप गरेर लुम्बिनी प्रदेशभरिका नटुवा समुदायका स्कुले बालबालिकालाइ हौसला प्रदान गर्ने लक्ष्य रहेको बताए ।
अध्यक्ष ठाकुरले लुम्बिनी साँस्कृति नगरपालिकापछि अन्य ठाउमा पनि बितरण गर्ने योजना रहेको बताए । शिक्षाबाट फिरन्ते लोपोन्मुख नटुवा समुदायको जीवनस्तर शुधार्न मद्दत मिल्ने भएकोले सबैलाइ सहयोग गर्न उनले आग्रह गरे ।
उज्वल थापा मेमोरियल फण्डले देशभरिबाट कोभीडमा राम्रो काम गरेका मध्ये ७ वटा संस्था छनौट गरि कोभिडबाट उपचारका क्रममा मृत्युभएका उज्जवल थापाको उपचारबाट बचेको नगदबाट माहुरी होम कपिलबस्तुलाइ पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुँदाका बखत माहुरी–होमका अध्यक्ष रवि ठाकुरले नवलपरासीदेखी नेपालगन्जसम्म छरिएर रहेका नटुवा समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिकालागि शैक्षिक सामग्री बितरण गर्ने भन्दै मेमोरियल फण्डलाइ बाचा गरेका थिए ।
सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का वडाध्यक्ष बिनोद कुमार श्रीवास्तवले जुनसुकै विपत र महामारीमा माहुरी होमले अल्पसंख्यक र विपन्न परिवारलाइ सहयोग गर्दै आएको भन्दै खुलेरै प्रशंसा गरे । उनले माहुरी होमको यस अभियानलाइ नगरपालिकाले साथ र सहयोग दिने प्रतिवद्धता जनाए ।
वडाध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी साँस्कृतिकनगरपालिका नागरिक सहकार्यमन्चका अध्यक्ष जुबेर अहमद खाँन, समाजसेवी पारस शर्मा तथा माहुरी होमका रूपन्देही इन्चार्ज बिकास चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।