नारद कोहार
कपिलबस्तु, असोज २९
कपिलबस्तु र सिमावर्ती जिल्ला सिद्धार्थनगरको सिमा सुरक्षा बैठक नौगढमा सम्पन्न भएको छ । बैठकमा कपिलबस्तुको तर्फबाट प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी उपरिक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की राष्ट्रिय अनुसन्धानका प्रमुख उप अनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी भएका थिए ।
त्यस्तै बैठकमा भारतको सिद्धार्थनगर जिल्लाका डिएम दिपक मीणा, एपि यशविर सिंह, एस एस वि कमाण्डेड अमित सिंह, भारतिय सिमावर्ती प्रहरी इकाइका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, अबैध हातहतियारको ओसार पसार नियन्त्रण, मानव बेचबिखन लगायतको विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । त्यस्तै भारतबाट नेपाल आउने नेपालीहरुलाई बिशालु औषधी खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा अनौपचारिक छलफल सहित बैठक सम्पन्न गरिएको उहाले बताउनुभयो ।
साथै उक्त बैठकमा बडादशैँ(दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी विभिन्न छलफल गरिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो ।