भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । बुधबार तमिलनाडूको कुन्नुर नजिकै भएको भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय सेनाले जानकारी दिएको छ ।
रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टर दुर्घटनामा रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको हो।
रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए । उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका थिए ।